काठमाण्डु – पछिल्लो समय उपत्यका ट्राफिक प्रहरी कार्यालय सक्रिय बनेको छ । काठमाण्डु उपत्यका ट्राफिक कार्यालयको नेतृत्वमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) मीरा चौधरी पुगेसँगै ट्राफिक प्रहरी सृजनशिल र सक्रिय बनेको हो ।
डीआईजी चौधरी उपत्यका ट्राफिक कार्यलयको नेतृत्वमा पुग्ने पहिलो महिला प्रमुख हुन् । उनले डीआईजीमा बढुवा भएलगत्तै ट्राफिक प्रमुख भएर सहरका सवारीको व्यवस्थापन गर्ने जिम्मा पाइन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन भए पनि त्यहाँ हाजिर नहुँदै उनलाई सरकारले काजमा सहरको ट्राफिक हेर्ने जिम्मा दियो ।
उनी नेतृत्व सम्हाल्ना साथ उपत्यकाको ट्राफिक व्यवस्थापनमा सक्रिय बनिन् । त्यसको पहिलो उदाहरण हो–सवारीसाधनका पछाडि लेखिने सायरी एवं गजल मेट्ने अभियान । उनले त्यस क्रममा केही आलोचना पनि खेपिन् । तर कतै डगमगाइनन् ।
त्यसको अर्काे उदाहरण हो– काठमाण्डु महानगरका मेयर बालेन साहले अबैध संरचना हटाउन लिएको एक्सन ।डीआइजी मीराकै योजनामा मेयर साहले ट्राफिक व्यवस्थापनका लागि काठमाण्डु महानगरभित्र अन्डरग्राउन्ड पार्किङको खोजी सुरु गरेका थिए ।
नक्साविपरित बनाइएका संरचना हटाउने मीराको सुझावअनुसार नै बालेन नक्सा र डोजर लिएर सडकमा निस्कीए । जसको परिणामस्वरुप ठूला भवनभित्रका व्यापारिक स्थल पार्किङका रूपमा खुल्न थालेका छन् ।
ठूला व्यापारिक भवनहरूले नक्सा पास गर्दै भवनमा पर्याप्त पार्किङको व्यवस्था गर्नुपर्ने हुन्छ । तर कतिपय भवनले पार्किङको नक्सा पास गराएर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेका छन् ।
अहिले ट्राफिक कार्यालय र महानगरपालिकाको संयुक्त सहयोगमा तिनै पार्किङको खोजी गरिएको ट्राफिक प्रमुख डिआइजी मीराले जानकारी दिइन् । केही दिनयता काठमाण्डुका बानेश्वर, सुनधारा, न्युरोड, दरबारमार्ग, कोटेश्वर शंखमुल लगायतका क्षेत्रमा डोजर लगाएर ती अवैध संरचना भत्काइँदैछ ।
संरचना भत्काइएका स्थानमा भिडभाड कम हुने गरेका छन् । अहिले कतिपय ठाउँमा बाहिर फुटफाथमा पार्किङ गर्न रोक लगाइएको छ। अवैध संरचना भत्काउने अभियानमा मेयर बालेनसँगै डीआइजी मीरा पनि पुग्ने गरेकी छन् । हिजो मात्रै महानगरले बानेश्वरस्थित अल्फा हाउसको बेसमेन्टमा डोजर चलाएको थियो । त्यहाँ मेयर बालेनसँगै डिआइजी मीरा पनि उपस्थित थिइन् ।
सवारीसाधनको पाकिङ व्यवस्थित नहुँदा देशकै मुटु भनेर चिनिने काठमाण्डु कुरुप बन्दै गइरहेको छ । व्यवस्थित पार्किङस्थलको अभावमा जथाभावी गाडी तथा मोटरसाइकल पार्किङ गर्नाले सर्वसधारण तथा बाहिरबाट आउने यात्रुहरु समेत समस्यामा पर्ने गरेका छन् ।
बजार क्षेत्रमा पार्किङस्थल नभएका कारण अव्यवस्थित हुनुका साथै समान किन्न आउनेले पसल अगाडी नै सवारी साधन पाकिङ गर्दा सर्वसधारणलाई मर्का पर्ने गरेको छ । अब भने काठमाण्डुमा ट्राफिक व्यवस्थापन केहि सहज हुने देखिएको छ ।
उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न उनी योजना नै बनाएर लागेकी छन् । विद्यालयका बसहरू कारबाहीको दायरामा ल्याउन ट्राफिक कार्यालयले विशेष विशेष चेकजाँच गरिरहेको छ । अनियन्त्रित हिसाबले चलाइका मोटरसाइकल एम्बुलेन्स चालक, पानी बोक्ने गाडी, जुन ठूला ट्रिपर लगायतलाई पनि कारबाहीको दायरा बढाइएको ट्राफिक कार्यालयले जनाएको छ ।
त्यस्तै सवारी चेकजाँचमा कडाई गरिएको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालक दिनहुँ कारबाहीमा पर्ने गरेका छन् । कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, लेन अनुशासन पालना नगर्ने, रेड लाइटमा सवारी साधन चलाउने, निषेधित क्षेत्रमा हर्न बजाउने र राम्रोसँग नम्वर प्लेट नराख्ने लगायतका ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालक रहेका छन् ।
बिहीबार मात्रै ट्राफिक कार्यालयले उपत्यकामा ३४ सय ३१ जना सवारी चालकमाथि कारवाही गरेको थियो । कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १८७, लेन अनुशासन पालना नगर्ने १०३, रेड लाइटमा सवारी साधन चलाउने ७५, निषेधित क्षेत्रमा हर्न बजाउने २९१ र राम्रोसँग नम्वर प्लेट नराख्ने ३१ जना सवारी चालक रहेका छन् ।
यस्तै, २ हजार ७४४ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ । ट्राफिक व्यवस्थापनमा डिआईजी मीराको सक्रियताले अब भने उपत्यकाको मुहार फेरिन सक्ने र यात्रा गर्न केहि सजह हुने भन्दै सर्वसाधारणले राहत महसुस गर्न थालेका छन् ।
प्रतिक्रिया