काठमाण्डु – सशस्त्र प्रहरीले विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन गर्ने भएको छ ।
त्यसका लागि सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणबीच शुक्रबार विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
एमओयूअनुसार, सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रद्धारा हाल सञ्चालित २ वटा पेट्रोल पम्पहरु र सशस्त्र प्रहरीका कार्यालयहरुका १५ उपयुक्त स्थान गरी १७ ठाउँमा चार्जिङ स्टेसन स्थापना गरिने छ । चार्जिङ स्टेसन दीर्घकालीनरुपमा कल्याणकारी कोष मातहत सञ्चालन हुने सशस्त्र प्रहरीले जनाएको छ ।
प्राधिकरण र नेपाल प्रहरीबीच २५ ठाउँमा चार्जिङ स्टेसन स्थापना गर्न यस अघिनै समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । प्राधिकरणले आफ्नै खर्चमा चार्जिङ स्टेसनका सम्पूर्ण उपकरण खरिद तथा पूर्वाधार निर्माण गर्ने एमओयूमा उल्लेख छ ।
त्यस्तै सशस्त्र प्रहरीले ब्यारेकहरुमा सञ्चालित मेसहरुमा ग्याँस हटाएर विद्युतीय चुलो (इन्डक्सन) प्रयोग गर्ने भएको छ । यसका लागि पनि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरेको छ ।
सशस्त्र प्रहरी बलकोतर्फबाट महानिरीक्षक राजु अर्याल र प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले एमओयूमा हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया