काठमाण्डु – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा गाली गर्नेलाई पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले फेसबुकमा गाली गर्नेलाई मानहानी र गाली बेइज्जतीको मुद्दा चलाउने चेतावनी दिएका हुन् । साथै उनले देशमा एउटा सरकार पनि छ भन्ने नभुल्न आग्रह गरेका छन्।
विशेषगरी काठमाण्डु महानगरका मेयर बालेन्द्र शाह र काठमाण्डुको फोहोरको बारेमा आलोचना गरेको भन्दै हर्कविरुद्ध सामाजिक सञ्जालमा गालि गलौज बढ्न थालेको छ ।
‘फेसबुकमा गालि गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पूर्जी जारी गरिनेछ,’ मेयर साम्पाङले भनेका छन्, ‘अनि मानहानी र गालि बेइज्यतीको मुद्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु !’
आफ्ना गतिविधि सामाजिक सञ्जालबाट दिइरहेका साम्पाङले यसअघि काठमाण्डु आउँदा फोहोर नउठेको विषयमा ब्यंग्य गरेका थिए ।
‘मैले काठमाण्डुको कुहिएर गन्हाइराको फोहोरको थुप्रोलाई फोहोर थुप्रो भनें,’ उनले प्रष्टिकरण दिँदै भनेका छन्, ‘सुनको थुप्रो भनिँन त्यसैले शुरु भयो फेसबुकवार’ सत्य बोल्दा यस्तै हुन्छ हाम्रो देशमा तर अन्ततः जीत सत्यकै हुन्छ !’
प्रतिक्रिया