पर्यटनमन्त्री श्रेष्ठद्वारा पर्यटकीय स्थलमा विशेष सरसफाई अभियानको सुरुवात

पर्यटनमन्त्री श्रेष्ठद्वारा पर्यटकीय स्थलमा विशेष सरसफाई अभियानको सुरुवात


काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाण्डुकाे हनुमानढोका दरबार स्क्वायर क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाई अभियानको सुरुवात गरेका छन् ।

सम्पदा स्थलहरुलाई सफा एवं आकर्षक वनाउने लक्ष्यका साथ सरसफाई अभियान सुरु गरिएको मन्त्री श्रेष्ठले बताए । अभियान अन्तर्गत हनुमानढोका दरबार क्षेत्र, वसन्तपुर र त्यस आसपासमा सरसफाइ गरिएको थियो । पर्यटन पुनरुत्थानका लागि क्लीन नेपाल- ग्रीन नेपाल अभियान नारासहित पर्यटकीय स्थलमा विशेष सरसफाई अभियान सुरु गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन सम्वद्ध सार्वजनिक निकाय, स्थानीय तह, सामाजिक संघ संस्थाहरु र शैक्षिक प्रतिष्ठानहरुसँगको सहकार्यमा विशेष सरसफाई अभियान सुरु गरेको हो । मन्त्री श्रेष्ठले अघि सारेकाे नेपालको पर्यटन क्षेत्र पुनरूत्थान कार्ययोजनमा महत्वपूर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाई अभियान संचालन गर्ने उल्लेख छ ।

पर्यटकलाई आकर्षित गर्न सरसफाई महत्वपूर्ण भएकोले यसलाई अभियानकै रुपमा सुरुवात गरिएको मन्त्री श्रेष्ठको भनाइ छ । अभियानले संस्कृति, सम्पदाको संरक्षण र प्रवर्द्धनमा सघाउ पुर्याउने उनले बताए । सरसफाइ अभियानमा सम्पदा संरक्षण अभियान्ता, विद्यार्थी, सुरक्षाकर्मी, सामाजिक संघ संस्थाका प्रतिनिधि तथा स्थानीयबासिन्दाको सहभागिता थियो ।