बूढीगण्डकी सर्वसाधारणको लगानीमा बन्ने, दर्ता भयाे कम्पनी

बूढीगण्डकी सर्वसाधारणको लगानीमा बन्ने, दर्ता भयाे कम्पनी


काठमाण्डु – बुढीगण्डकी जलविद्युत् आयोजना पब्लिक कम्पनी लिमिटेडको रुपमा दर्ता भएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण संस्थापक रहने गरी शुक्रबार कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता भएको हो ।

अब कम्पनीमा ऊर्जा मन्त्रालयको ५०, अर्थको ३० र विद्युत् प्राधिकरणको २० प्रतिशत सेयर स्वामित्व रहने छ ।कम्पनीको अधिकृत पुँजी २० अर्ब र तत्काल जारी पुँजी २० अर्ब रहनेछ ।

धादिङ र गोरखामा बन्ने आयोजना १२ सय मेगावाटको हो । राष्ट्रिय गौरवको आयोजना मानिएको यसलाई आव २०८२/०८३ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ९ वर्षअघि नै काम सुरु भएको यो आयोजनाको कुल लागत २ खर्ब ६० अर्ब लाग्ने अनुमान छ ।

हालसम्म यसको निर्माण कार्य अघि बढ्न सकेको छैन । त्यसमाथि बदलिरहने सरकारले कहिले चिनियाँ कम्पनीलाई बनाउन दिने त कहिले आफैँ स्वदेशी लगानीमा बनाउने भनी आफूअनुकूलका निर्णय गर्दा आयोजना निर्माणमा अलमल हुँदै आएको छ ।

गत चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले १२ सय मेगावाट उत्पादन क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना कम्पनी मोडलमा स्वदेशी लगानीबाटै बनाउने निर्णय गरेको थियो । सो आयोजना अब यसै कम्पनीमार्फत् निर्माण हुनेछ ।