पूर्वडिआइजी रञ्जन कोइरालाबारे चोलेन्द्रले बयानमा के भने ?

पूर्वडिआइजी रञ्जन कोइरालाबारे चोलेन्द्रले बयानमा के भने ?


काठमाण्डु – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरासँगको तेस्रो दिनको बयान सकिएको छ । महाअभियोग सिफारिस समितिले आज जवरासँग पाँच वटा प्रश्न सोधेको थियो । अर्को बैठक २५ गते बस्ने छ ।

निर्वाचनको तयारीका लागि दलका नेताहरू जिल्ला जिल्लामा जानुपर्ने भएकाले बैठक ६ दिन पर सारिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

समितिले सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा राणाको इजलासले गरेको फैसलाबारे प्रश्न सोधेको थियो । सो क्रममा जवराले आफूले यो मुद्दामा विवेक प्रयोग गरेको बताएका छन् ।

उनले यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने बताए । ‘त्यसमा विवेक प्रयोग गर्दा गल्ती भयो भने जनता समक्ष क्षमा चाहन्छु, मलाई प्रायश्चित भएको छ ,’ बयानमा जबराले भनेका छन् ।

श्रीमतीको निर्ममतापूर्वक हत्या गरेको अभियोग लागेका कोइरालालाई तोकिएको २० वर्ष सजाय घटाएर जबराले ८ वर्षमा झारेका थिए । यसमा न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार भएकाले त्यसलाई प्रयोग गरेको उनको भनाइ छ ।

कोइरालाका २ जना छोरा छन् । पारिवारिक कुरा र दुई जना नाबालक बच्चाहरुका लागि न्यायाधीशले विवेक प्रयोग गरेर सजाय कम गरेको उनले बयानमा भनेका छन् ।

‘रञ्जन कोइराला कसुरदार ठहरिएका हुन् । उहाँलाई जन्मकैद भएको हो । तर, न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार  तत्कालीन मुलुकी ऐनले दिएको छ,’ उनले बयानको क्रममा भने, ‘यो पारिवारिक मुद्दा हो । नाबालक छोराहरू पनि इजलासमा उपस्थित भए । नाबालकहरूको पालन पोषणका लागि । पारिवारिक जीवन बिताउनका लागि कैद घटाइएको हो । त्यसमा विवेक प्रयोग गर्दा गल्ती भएको छ ।’

संसद्‍मा महाभियोग प्रस्ताव दर्ता भएको करिब ७ महिनापछि निलम्बित प्रधानन्यायाधीश जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले गत बुधबारदेखि बयान लिन सुरु गरेको हो । उनले यसअघि दुईपटक बयान दिइसकेका छन् ।