आज पनि भीआइपीको सवारीका कारण सर्वसाधारणलाई सास्ती

आज पनि भीआइपीको सवारीका कारण सर्वसाधारणलाई सास्ती


काठमाण्डु – नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारीका कारण आज पनि काठमाण्डु उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ । ली नेतृत्वको टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएको हाे । राष्ट्रपति भण्डारीसँग दिउँसो भेटवार्ता गर्ने तालिका छ ।

यसैबीच बुधबार पनि कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, राधेराधे, सल्लाघारी, सैनिक आवासीय विद्यालय, कालोपाटी व्यासीलगायत क्षेत्रमा गाडीको आवागमन प्रभावित भएका छन् ।

लीले दिउँसो साढे ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् । यो समयमा रविभवन, कालीमाटी, त्रिपुरेश्वर, महाङ्काल, जमल, केशरमहल, लैनचौर, पानीपोखेरी हुँदै शीतल निवास क्षेत्रमा गाडीको आवागमन प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो समयमा यी रुटमा चल्ने गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको आग्रह छ ।

लीको सवारीका कारण हिजो र अस्ति पनि काठमाण्डु उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो। सवारी साधन अस्तव्यस्त हूदा यात्रुहरुलाई भने सास्ती भएको छ।