आज पनि टुकुचा अतिक्रमण भएको ठाउँमा चल्यो महानगरको डोजर

आज पनि टुकुचा अतिक्रमण भएको ठाउँमा चल्यो महानगरको डोजर


काठमाण्डु-  काठमाण्डु महानगरले टुकुचा खोला अतिक्रमण भएको क्षेत्रमा डोजर चलाएको छ । महानगरपालिकाको डोजर सहितको टोलीले सोमबार हात्तीसार कमलपोखरी क्षेत्रमा पुगेर उत्खनन् जारी राखेको हो ।

टुकुचा अतिक्रमण गरेको भन्दै सम्भावित क्षेत्र पहिचान गरेर महानगरले केही दिनदेखि हात्तीसार क्षेत्रमा डोजर चलाइरहेको छ । यसभन्दा अघि जयनेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा खोला फेला पारेको थियो ।

यता उच्च अदातल पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । काठमाण्डु महानगरपालिकाले हराएको टुकुचा खोला खोज्दै त्यसमाथि बनाएका संरचनाहरु भत्काउने तयारी गरेपछि आइतबार उच्च अदालत पाटनले आइतबार उक्त आदेश गरेको जनाइएको छ ।

अल्पकालीन अन्तरिम आदेश दुवै पक्षको बहस सुनेर अर्को आदेश नहुने बेलासम्मका लागि दिइने आदेश हो । तर महानगरपालिकाको डोजर सहितको टोलीले भने सोमबार पनि हात्तीसार कमलपोखरी क्षेत्रमा पुगेर उत्खनन् जारी राखेको छ ।