राष्ट्रपतिबाट संविधानको उलङ्घन नभएको संविधानविद् आचार्यको दावी 

राष्ट्रपतिबाट संविधानको उलङ्घन नभएको संविधानविद् आचार्यको दावी 


काठमाण्डु- राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको उल्लङ्घन नभएको संविधानविद् डा. भीमार्जुन आचार्यले दावी गरेका छन् ।

संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेको उक्त विधेयक प्रमाणीकरण नगरेर संविधानकै उल्लंघन गरिएको भन्दै आलोचना भइरहेका बेला संविधानविद् आचार्यले भने राष्ट्रपति भण्डारीबाट संविधानको उल्लङ्घन नभएको दावी गरेका हुन् ।

 संसद्को कार्यकाल नै सकिएकाले विधेयक आफै निस्कृय भएको उनको भनाइ छ ।  ‘राष्ट्रपतिबाटसंविधानको उल्लङ्घन भएको छैन । प्रतिनिधिसभाको कार्यकाल असोज १ गते समाप्त भइसकेको अवस्था छ । धारा ११३ को उपधारा (१०) मा प्रतिनिधिसभाको कार्यकाल समाप्त भएपछि विधेयकहरू निष्क्रिय हुन्छन् भनिएको छ ।’, उनले भने ।

त्यसैगरी उनले निष्क्रिय भइसकेको विधेयकलाई कसरी प्रमाणीकरण गर्ने भन्दै प्रश्न पनि गरेका छन् ।  ‘उहाँले पन्ध्र दिन नपुग्दै किन प्रमाणीकरण गर्नुभएन भन्ने कुरा उहाँलाई नै थाहा होला । तर निष्क्रिय भइसकेको विधेयक प्रमाणीकरण गर्न मिल्दैन।’ उनले भने ।

यसअघि १५ साउनमा पहिलो पटक संसदको दुवै सदनबाट पारित भएर पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न भन्दै २९ साउनमा संसदमै फिर्ता पठाएकी थिइन् । उनले १५ बुँदे सन्देश समेत पठाएकी थिइन् । तर, प्रतिनिधिसभा र राष्ट्रियसभाले फेरी हुबहु पारित गरेपछि उनि असन्तुष्ट थिईन ।