काठमाण्डु- नेकपा माओवादी केन्द्र धनकुटाका नेता–कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । आइतबार माओवादी धनकुटाका नेता कार्यकर्ताले सामूहिक राजीनामा दिंदै मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत स्वतन्त्र उमेदवारी दिने घोषणा गरेका हुन् ।
जसअनुसार नेकपा माओवादी केन्द्रका हेमराज भण्डारी, केन्द्रीय सदस्य धनमाया विक, प्रदेश समितिका सहसचिव ऋषिराम ढुंगानासहित प्रदेश सदस्यसहित जिल्लाका पदाधिकारीहरुले सामूहिक राजीनामा दिएका छन् ।
माओवादीका धनकुटा संयोजक डिल्लीराम राईले विज्ञप्तिमार्फत आइतबारको बैठकपछि १४ जना प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सबै पदाधिकारी र सदस्यहरुले राजीनामा दिएको बताएका हुन् । संघको चुनाव अन्र्तगत एउटै मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा सत्तारुढ पाँचदलीय गठबन्धनमा सिट बाडँफाँट कांग्रेसका भागमा परेको छ ।
कांग्रेसले धनकुटामा केन्द्रीय सदस्य सुनिल थापालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । सत्तारुढ गठबन्धनको उक्त निर्णय पछि धनकुटा माओवादी केन्द्र रुष्ट बनेको हो । प्रतिनिधिसभाको निर्वाचनमा धनकुटामा माओवादीका पोलिटब्युरो सदस्य भण्डारीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।
उनले आगामी निर्वाचनमा धनकुटाको विकास र समृद्धिको योजना र योगदान गर्न सक्ने आधारसहित प्रतिनिधिसभामा स्वतन्त्र उमेदवारका रुपमा धनकुटेली जनतामा जाने प्रस्ताव बैठकमा राखेका थिए । जिल्ला नेताहरुले पनि भण्डारीको उम्मेदवारीलाई समर्थन गरेका छन् ।
प्रतिक्रिया