काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन नेपाल प्रहरीका एसएसपी नेतृत्वको टोलीले गर्ने भएको छ।
प्रहरी प्रधान कार्यालयले घटनाको अनुसन्धानका लागि प्रदेश ७ प्रहरीका एसएसपी विक्रम चन्दलाई खटाएको हो। ‘चन्द बिहीबार महेन्द्रनगर जाँदैछ, घटनाको अनुसन्धान गर्न र अहिले भइरहेको आन्दोलनलाई वार्ताबाट मत्थर पार्न भनिएको छ,’ प्रहरी स्रोतले काठमाडौंपाटीलाई भन्यो।
उनी महेन्द्रनगर छउन्जेल कञ्चनपुर प्रहरीकाे नेतृत्व सम्हाल्नेछन्।
घटना भएको एक महिना पुग्न लाग्दा प्रहरीले गत सोमबार मात्र ४१ वर्षीय दिलीपसिंह बिष्टलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको थियो।
तर, असामान्य व्यक्ति विष्टलाई पक्राउ गरी अभियुक्तलाई उम्काउने प्रयास गरेको भन्दै मंगलबारदेखि महेन्द्रनगर बजार बन्द गराएका छन्। अचेल महेन्द्रनगर तनावग्रस्त छ, दिनहुँ प्रदर्शन भइरहेको छ। बुधबार मात्र दुई राउण्ड हवाई फायर, ११ राउण्ड अश्रुग्यास प्रहार भएको थियो।
घटनाको कञ्चनपुर प्रहरी र नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरोले अनुुसन्धान गरिरहेपनि स्थानीयको आशंका कायमै छ।
स्थानीयले कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीसिंह विष्ट र डिएसपीको सरुवाको माग गरिहेका बेला प्रहरी प्रधान कार्यालयले अनुसन्धानको जिम्मा एसएसपी चन्दलाई दिएको हो। २०७२ मा टीकापुर घटना हुँदा एसपी रहेका चन्द कैलाली प्रहरी प्रमुख थिए।
निर्मला हत्या प्रकरणमा प्रभावकारी अनुसन्धान नभएको भन्दै स्थानीयहरु पहिलेदेखि नै असन्तुष्ट छन्। प्रहरी स्रोतका अनुुसार विष्टलाई प्रहरी प्रधान कार्यालय तान्ने तयारी भइरहेको छ। उनी केही महिना अघि मात्र कञ्चनपुर प्रहरी प्रमुख बनेका थिए।
बालिका पन्तको गत साउन १० गते बलात्कार पछि हत्या भएको थियो। यद्यपी, प्रहरीले नक्कली अभियुक्त खडा गरेको भन्दै मृतकका आफन्तले बिष्टविरुद्ध जाहेरी दिन अस्वीकार गरेका छन्।
प्रतिक्रिया