काठमाण्डु- एमाले परित्याग गरेका घनश्याम भुसाल र योगेन्द्र शाहीले गठबन्धनको साथ पाएका छन् । भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । उनले स्वतन्त्र उम्मेदवारी दिने र सत्ता गठबन्धनले उनलाई समर्थन गर्ने सहमति भएको हो । भुसालले शनिवार एमाले परित्याग गरेका थिए ।
रुपन्देहीमा माओवादीको तर्फबाट अर्को उम्मेदवार उठाइएको छैन् । भुसालले माओवादी अध्यक्ष प्रचण्डले आफुलाई फोन गरेर गठबन्धनको समर्थन हुने जानकारी दिएको बताए । उनि ०७४ को निर्वाचनमा रुपन्देही ३ बाट निर्वाचित भएका थिए । एमाले र राप्रपाको भागवण्डा हुंदा उक्त क्षेत्रबाट दीपक बोहरा उम्मेदवार बन्ने भएपछि भुसालले पार्टी परित्याग गरेको घोषणा गरे ।
भुसाल नै प्रमुख रहेको एमालेको अर्थ तथा योजना विभागका सचिव रहेका योगेन्द्र शाहीले माओवादी केन्द्रबाट टिकट पाएका छन् । एमालेमा टिकट नपाएपछि पार्टी परित्याग गरेका शाहीलाई माओवादीले दैलेखको क्षेत्र नम्बर २ को ख बाट उम्मेदवार बनाउने भएको हो ।
उक्त क्षेत्रबाट माओवादीले यसअघि उपेन्द्र रावतलाई उम्मेदवार बनाएको थियो । रावतको टिकट खोसेर माओवादीले शाहीलाई टिकट दिएको हो ।
प्रतिक्रिया