प्रहरीकाे गाेलीबाट एक बालक मारिए, महेन्द्रनगरमा अनिश्चितकालीन कर्फ्यू

प्रहरीकाे गाेलीबाट एक बालक मारिए, महेन्द्रनगरमा अनिश्चितकालीन कर्फ्यू


काठमाडाैं– कञ्चनपुरको महेन्द्रनगरमा प्रहरीको गोली लागेर शुक्रबार बेलुका एक बालककाे मृत्यु भएकाे छ।

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको विरोधमा जारी आन्दोलनका क्रममा शुक्रबार बेलुका करिब साढे पाँच बजेतिर प्रहरीले गोली चलाउँदा भीमदत्त नगरपालिका वडा नम्बर १८ का   बालक सन्नी खुनाको मृत्यु भएको हाे।

गोली प्रहारबाट कविन्द्र सिंह, सगुन सुवेदी, दामोदर खत्री र उमेश देउवा घाइते भएका छन्। घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

बिहीबार गोली हानिएकै स्थान वडा प्रहरी कार्यालय नजिकै शुक्रबार पनि प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएको हो। कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले गोली चलेको पुष्टि गरेका छन्।

यसैबीच,  प्रहरीकाे गाेलीबाट बालकको मृत्यु भएपछि  महेन्द्रनगरका केही स्थानमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ । स्थानीय प्रशासनले साँझ ८ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सूचना जारी गरी कर्फ्यूको समयमा बाहिर ननिस्कन आग्रह गरेका छन्।

बिहीबार घटनाको छानबिन गर्नका लागि गृहमन्त्रालयका सहसचिवस्तरीय छानबिन समिति गठन गरिएको छ। अनुसन्धानका लागि गठन गरिएको समितिका संयोजक सहसचिव हरिप्रसाद मैनाली संयोजकत्वको टोली काठमाडौंबाट महेन्द्रनगर पुगेको छ। समितिलाई घटनाको बारेमा अनुसन्धान गर्न १५ दिनको समय दिइएको छ।