राजु गुरुङको रिटमाथि सुनुवाई हुँदै, उम्मेदवारी कायम होला ?

राजु गुरुङको रिटमाथि सुनुवाई हुँदै, उम्मेदवारी कायम होला ?


काठमाण्डु – नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ ।

असोज ३० गते अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले आज अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयको टुंगो लगाउने भएको हो ।

सत्ता गठबन्धनका तर्फबाट रुपन्देही २ मा उम्मेदवार बनेका नेता गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । उम्मेदवारी खारेजविरुद्ध गुरुङले असोज २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा उम्मेदवार राजु गुरुङले कर्जा सूचना केन्द्रको कालोसूचीमा आफू नभई आफू आवद्ध रहेको संस्था नर्थ वेष्ट नेपा इन्फ्रा प्रालि मात्रै रहेको भन्दै आफ्नो उम्मेदवारी कायम हुनुपर्ने जिकिर गरेका छन् ।

असोज ३० गते पेसीमा चढ्दा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले कात्तिक २ गते बुधबारसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उम्मेदवारी कायम गर्न आदेश दिएका थिए ।

आज भने गुरुङको रिट निवेदनको दुई न्यायाधीश रहने संयुक्त इजलासमा सुनुवाइ हुनेछ । संयुक्त इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिए गुरुङ निर्वाचनमा उम्मेदवार बन्न पाउनेछन् । तर अदालतले अल्पकालीन अन्तरिम आदेशलाई खारेज गरिदिएमा उम्मेदवारका रुपमा गुरुङको दौड समाप्त हुनेछ ।