नेकपा अध्यक्ष प्रचण्ड भेट्न अमेरिकी मन्त्री खुमलटारमा

नेकपा अध्यक्ष प्रचण्ड भेट्न अमेरिकी मन्त्री खुमलटारमा


काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी उपसहायक मन्त्री एलिस जि वेल्सबीच भेटवार्ता भएको छ । नेकपा अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको भएको भेटवार्तामा दिपक्षीय हितका विषयमा छलफल भएको थियो । वेल्स दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायकमन्त्री हुन् ।

भेटमा नेपालको आर्थिक समृद्धिमा अमेरिकी सहयोग र समर्थनबारे समेत छलफल भएको उनको सचिवालयले जनाएको छ । पुर्वप्रधानमन्त्री समेत रहेको नेकपा अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया, गणतन्त्रको घोषणा र संविधान निर्माण हुँदै त्यसको सफल कार्यान्वयनमा अमेरिकी जनता र सरकारको तर्फबाट प्रकट भएको सद्भावका लागि धन्यवाद दिएका थिए ।

प्रचण्डले ७० वर्षदेखिको राजनीतिक अस्थिरताको अन्त्य गरी देश स्थायित्वको युगमा प्रवेश गरेको भन्दै सरकारको प्राथमिकता आर्थिक समृद्धिमा रहेको बताएका थिए ।

भौतिक पूर्वाधारको निर्माण, पर्यटन क्षेत्रको विकास, जलविद्युत उत्पादन र कृषिमा आधारित उद्योगको विकासमा अमेरिकी सहयोग आवश्यक रहने अध्यक्ष प्रचण्डको भनाई थियो । उनले त्यसको लागि लगानीको सुरक्षा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

प्रचण्डले शान्ति, समृद्धि र लोकतन्त्रप्रति आफूहरु प्रतिवद्ध रहेको भन्दै संसारमा स्थापित लोकतन्त्रको मान्यता अनुसरण गरिएको बताए ।

भेटमा सहायकमन्त्री वेल्सले नेपालको राजनीतिक स्थायित्वमा प्रचण्डको महत्वपूर्ण योगदान रहेको भन्दै उनको प्रशंसा गरेकी थिईन् । उनले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण विश्वका लागि मोडल भएको बताए ।

उनले नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्ध आगामी दिनमा अझ मजबूत हुने विश्वास व्यक्त गरिन् । वेल्सले वर्तमान स्थायी सरकार नेपालको आर्थिक समृद्धिका लागि गतिलो आधार भएको बताए । उनले साइबर सुरक्षा र प्रकोप नियन्त्रणमा आफूहरु सहयोग गर्न इच्छुक रहेको धारणा राखिन् ।