एलन मस्क बने ट्विटरको मालिक

एलन मस्क बने ट्विटरको मालिक


एजेन्सी – ट्विटर खरिद प्रक्रिया पूरा गरेपछि विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कले पंक्षी मुक्त भएको प्रतिक्रिष्या दिएका छन् । ट्विटर खरिद प्रक्रिया सकिएसँगै शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा उनले आफ्नै शैलीमा यसको घोषणा गरेका छन् । मस्कले लेखेका छन्, ‘दि बर्ड इज फ्रिड’ अर्थात चरा मुक्त भयो ।

धेरै महिनाको प्रयासपछि इलोन मस्कले अब ट्वीटर ग्रहण गर्ने प्रक्रिया पूरा गरेका हुन् । यससँगै उनले कम्पनीका सीईओ पराग अग्रवाललाई पनि जागिरबाट हटाएका छन् । ट्विटर खरिद गर्ने सम्झौताअनुसार ट्विटरको स्वामित्व आफ्नो नाममा गरेसँगै विद्युतीय गाडी टेस्ला र अन्तरीक्षयान निर्माता स्पेस एक्स कम्पनीका मालिक मस्कले ट्विटरका सीईओ अग्रवालसहित चिफ फाइनान्सियल अफिसर नेड सेगललाई पनि बर्खास्त गरेका हुन् ।

गत अप्रिलमा ट्विटर किन्ने सुरुवाती सम्झौता गरेका मस्क पछि उक्त सम्झौताबाट बाहिरिन खोजेका थिए । ट्विटर किन्ने सम्झौता गरेपनि पछि आनाकानी देखाएपछि ट्विटरले उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको थियो । मस्कले ट्विटर किन्नका लागि अदालतबाट अक्टोबरसम्मको समयसीमा पाएका थिए ।

मस्कले वाक् स्वतन्त्रताको पक्षमा आफू रहेको भन्दै ट्विटरको कन्टेन्ट मोडेरेसन नीतिबारे पुनर्विचार गर्ने बताउँदै आएका छन् ।
अहिले सामाजिक सञ्जालहरू दुई भागमा विभाजन भएको भन्दै यसले समाजमा घृणा फैलाउनुका साथै घातक सिद्ध हुनेसमेत उनले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा देखिएका यस्ता विकृतिविरुद्ध लाग्नका लागि आफूले ट्विटर खरिद गरेको मस्कको भनाई छ ।

पैसा कमाउनका लागि आफूले ट्विटर खरिद नगरेको भन्दै मस्कले मानवताको सहयोगका लागि ट्विटर खरिद गरेको बताएका छन् । मस्कले ट्विटरलाई जसले जे पनि लेख्न मिल्ने सस्तो प्लेटफर्म नबनाउने बताएका छन् । ट्विटर खरिद गरेसँगै मस्कले आफ्नो ट्विटर खाताको बायोमा ‘चिफ ट्विट’ अर्थात् ट्विटर प्रमुख भनेर लेखेका छन् ।

उनले ५४.२० डलर प्रतिसेयर मूल्यमा कुल ४४ बिलियन डलर (अहिलको विनिमय दरअनुसार ५३ खर्ब ६८ अर्ब) तिरेर ट्विटर किनेका हुन् । हरेक दिन २० करोडभन्दा बढी मानिसहरूले प्रयोग गर्ने माइक्रोब्लगिङ साइट, ट्विटर मस्कको हातमा परेपछि उनले अब यसलाई कस्तो आकार दिनेछन् भन्नेमा सबैको चासो छ ।