काठ तस्करीमा संलग्न सशस्त्रका डिएसपी रामप्रसाद निलम्बित

काठ तस्करीमा संलग्न सशस्त्रका डिएसपी रामप्रसाद निलम्बित


काठमाडौं– सरकारले काठ तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका डिएसपी रामप्रसाद भण्डारीलाई निलम्बन गरेको छ।

गृह मन्त्रालयले धनकुटा काठ तस्करी प्रकरणमा डिएसपी भण्डारीसहित सशस्त्र प्रहरी जवानहरु विनोद कट्टेल, मिलन कुमार राई र सो गाडीका चालक सशस्त्र प्रहरी जवान दिपेन्द्र कुमार कर्माकारलाई पनि निलम्वन गरेको छ।

गत जेठ २१ गते सशस्त्र प्रहरी बल अरुण गुल्म चैनपुरको बा १ ग १६६९ नम्बरको ट्रकमा ९२।९८ क्यूफिटको एक सय ८४ थान काठ डिएसपी भण्डारीले सुनसरीतर्फ पठाउँदै गर्दा धनकुटाको साँगुरीगढीमा सशस्त्रकै गस्ती टोलीले फेला पारेको थियो।

काठको छुटपुर्जी लगायत कागजपत्र समेत तयार नपारीकनै र माथिल्लो निकायलाई पनि जनकारी नदिई अर्को जिल्ला पठाउन लागिएको सो काठबारे गृहले अनुसन्धान थालिएको थियो।

सो घटनाबारे जानकारी प्राप्त हुनासाथै पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी उपरीक्षक गुणाखर खनालको अध्यक्षतामा छानवीन समिति गठन गरिएको थियो।

अनुसन्धानका क्रममा भण्डारीले काठ तस्करी गरेको खुलेपछि उनलाई निलम्बन गरिएको गृहले जनाएको छ।