काठमाण्डु – सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ।
जिल्ला अदालत काठमाण्डुका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार थुनछेक बहस भए पनि नसकिएपछि आज फेरि बहस हुन लागेको हो। बुधबार सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेका थिए। सन्दीपको तर्फबाट पनि २ जना कानुन व्यवसायीले बहस गरे।
प्रहरीले सोमबार जिल्ला अदालत काठमाण्डुमा मुद्दा दायर गरेको थियो। मंगलबार सन्दीपको बयान गराइएको थियो। बहस सकिएपछि थुनछेक आदेश जारी हुनेछ। अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा राख्ने भन्ने आदेश जारी गर्नेछ।
गत भदौ ५ गते रातीदेखि भदौ ६ गतेको बिहानसम्म एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटल काठमाडौँ इनमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।
जाहेरी परेको समयमा सन्दीप क्यारेबियन लीग खेल्न जमैकामा पुगेका थिए । प्रहरीमा जाहेरी परेपछि खेल नखेली फरार भएपछि नेपाल प्रहरीले सन्दीपविरुद्ध डिफ्युजन नोटिस समेत जारी गरेको थियो । प्रहरीले डिफ्युजन नोटिस जारी गरेपछि सन्दीप असोज २० गते काठमाडौँ आएका थिए । त्यसलगत्तै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
प्रतिक्रिया