प्रकाशमानलाई मतदाताको गुनासो : सरकारी सेवामा सास्ती र पानीको व्यवस्थापन गरियोस्

प्रकाशमानलाई मतदाताको गुनासो : सरकारी सेवामा सास्ती र पानीको व्यवस्थापन गरियोस्


काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले सरकारी सेवाको उचित व्यवस्थापन हुन नसकेको गुनासो गरेको बताएका छन् ।

शनिबार काठमाडौं क्षेत्र नम्बर १ मा आम मतदाताहरूसँग घरदैलो कार्यक्रममा उनीहरूले आफूलाई पानी र सरकारी सेवाहरूको छिटोछरितो व्यवस्थापनमा जोड दिन आग्रह गरेको बताए ।

उनले विगतका वर्षमा भन्दा यस वर्ष मतदाताहरूले निर्वाचनका सन्दर्भमा राम्रो प्रतिक्रिया दिइरहेको उल्लेख गर्दै नागरिकका मागहरू सम्बोधन गर्न आफू हरेक समय तयार रहेको बताए ।

काठमाडौं क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनका साझा उमेदवार बनेका नेता सिंहले जनताको मेलम्चीको पानीको गुनासो र तीनै तहका सरकारलाई व्यवस्थित बनाउने कुरामा आफू प्रतिबद्ध रहेको बताए ।

उनले संघीयताअनुसार तीन तहको सरकार व्यवस्थित हुन नसकेको गुनासो आम नागरिकले गरेको बताए । उनले यसअघिका दुई निर्वाचन संविधान लेख्नमा लागेको र संधिवान जारी गरिसकेपछि कार्यान्वयन गर्ने बेलामा कांग्रेसले जनमत नपाएकाले व्यवस्थित हुन नसकेको भन्दै आगामी निर्वाचनपछि कांग्रेसले संविधानको अक्षरशः कार्यान्वयन गर्ने बताए ।