काठमाडौं– सोमबार विहान बा २ ख ६११८ नम्बरको निजी क्षेत्रको फोहोर बोक्ने ट्रिपरको ठक्करबाट मृत्यु हुने पदमबहादुर बलामीलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ।
काठमाडौं महानगरपालिका, पीडित, सवारी धनी, ककनी गाउँपालिका वडा १ का वडाध्यक्ष, बुढानिलकण्ठ र तारकेश्वर नगरपालिकाका वडाध्यक्षहरुबीच भएको बार्ताबाट पीडितलाई दुर्घटना गराउने सवारीधनीले १५ लाख र काठमाडौं महानगरले ५ लाख रुपैयाँ क्षतिपूर्तिस्वरुप रकम उपलब्ध गराउने सहमति भएको हो ।
यस सहमतिबमोजिम मृतकका छोरा राजु बलामीलाई योग्यताबमोजिम महानगरमा दरबन्दी रिक्त भएका बेला प्राथमिकता साथ रोजगारी दिने, स्थानीयले फोहोर ढुवानीमा कुनै रोकावट नगर्ने पनि सहमति भएको छ।
पीडितलाई उपलब्ध गराउने रकममध्ये गाडी धनीले किरिया खर्चबापत् ५० हजार रुपैयाँ तत्काल, १ लाख रुपैयाँ भाद्र १२ गतेभित्र र बाँकी रकम ३५ दिनभित्र वैङ्क खातामा उपलब्ध गराइने सहमति भएको वातावरण प्रशासन महाशाखा प्रमुख युवराज खनालले जानकारी दिए।
चालकलाई भने प्रचलित कानुनबमोजिम हदैसम्मको कारवाही गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने सहमतिको अर्को बुँदा हो ।
यस सहमतिको रोहवरमा ककनी गाउँपालिका वडा नं। १ का अध्यक्ष चन्द्रबहादुर बलामी, वडा नंं २ का अध्यक्ष केदार पौडेल, तारकेश्वर नगरपालिका वडा नं। ३ का अध्यक्ष मनोहरि तिवारी, वडा नं। ८ का अध्यक्ष सुमन तामाङ्, काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवर, वातावरण प्रशासन महाशाखा प्रमुख युवराज खनाल र नगर प्रहरी महाशाखा प्रमुख विष्णुराज जोशी छन्।
घटना साेमबार विहानै पौने ७ बजे ककनी गाउँपालिका १ को महालक्ष्मी स्थान नजिक भएको थियो । बलामीको घटनास्थलमा नै मृत्यु भएको थियो ।
प्रतिक्रिया