प्रधानमन्त्री कपको उपाधि एपिएफलाई

प्रधानमन्त्री कपको उपाधि एपिएफलाई


काठमाण्डु – विभागीय टोली एपीएफ क्लबले दोस्रो पटक पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । टियु क्रिकेट मैदानमा भएको फाइनलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै उपाधि जितेको हो ।

जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको एपिएफले ३८.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । एपीएफको जितमा भुवन कार्कीले सर्वाधिक ५५ रनको अर्धशतकीय इनिङ खेले । सुमित महर्जनले ३४ रन जोड्दा प्रदीप ऐरीले २० रन बनाए ।

आर्मीका जितेन्द्र मुखियाले दुई, सोमपाल कामी, विक्रम सोब र सुशन भारीले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ३९ ओभरमा अलआउट हुदै १ सय ७९ रन बनाएको थियो । आर्मीका युवा ब्याटर रोहित पौडेलले ५६ बलमा ३ चौकासहित सर्वाधिक ४९ रन बनाए ।

एपिएफका स्पिनर मौसम ढकालले ८ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । अमरसिंह राउटेलाले ८ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । किशोर महताले ७ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । उपाधिसँगै एपीएफले नगद १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले ५ लाखमा चित्त बुझाएको छ ।