काठमाडौँ– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन अगाडि आज परराष्ट्र सचिवस्तरीय बैठक शुरू भएकाे छ । १९औँ उच्च अधिकारी स्तरीय बैठकले भोलि बस्ने १६औँ मन्त्रिस्तरीय बैठककको एजेण्डा तय गर्नेछ।
सम्मेलन भदौ १४ र १५ मा काठमाडौँमा बस्नेछ। सम्मेलनका एजेण्डा तय गर्नका लागि सचिवस्तरीय बैठक बस्न लागेको हो। बैठकले मन्त्रिस्तरीय बैठकका एजेण्डा तय गर्ने छ र भोलिको मन्त्रिस्तरीय बैठकले ती एजेण्डालाई अन्तिम रूप दिने छ। यसरी मन्त्रिस्तरीय बैठकले सहमति जुटाएका एजेण्डालाई सम्मेलनले पारित गर्ने छ।
यसैबीच बैठकमा क्षेत्रीय लगानी तथा व्यापार, पारवहन तथा सञ्चार, प्रविधि, प्रतिआतंकवाद तथा अन्तरदेशीय अपराध, कृषि, गरिबी निवारण र जनस्वास्थ्यलगायतका विषयमा छलफल हुने परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिए।
नेपाल बिमस्टेकको अध्यक्ष मुलुक भएकाले उक्त बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसँगै अध्यक्षतासमेत गरेका सचिव वैरागीले चौथो शिखर सम्मेलनपछि जारी हुने काठमाडौँ घोषणापत्रका मस्यौदामा गहन छलफल गर्ने बताए। मन्त्रिस्तरीय बैठक र बिमस्टेकका अन्य संयन्त्रले प्रस्तुत गरेका प्रतिवेदनमा गम्भीर विचारविमर्श हुने उनले जानकारी दिए ।
वरिष्ठ पदाधिकारीको बैठकमा बिमस्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमा हालसम्म भएका प्रगतिको समीक्षा भइरहेको छ ।
त्यस्तै बैठकले गत साउन २५ र २६ गते काठमाडौंमा सम्पन्न बैठकको समीक्षा गर्ने छ। सो बैठकले विमस्टेकको बडापत्रमाथि सहमति जुटाएको थियो। त्यस्तै १५ औँ मन्त्रिस्तरीय बैठकको प्रतिवेदनका विषयमा समेत छलफल हुने बताइएको छ।
भन्सार सहायतासम्बन्धी कार्यदलको प्रतिवेदन, गत वर्ष बैङ्ककमा भएको बिमस्टेक यातायात सम्पर्क कार्यदलको दोस्रो बैठकको प्रतिवेदन, बिमस्टेक तटीय पानीजहाज सम्झौतासम्बन्धी नयाँदिल्लीमा सम्पन्न पहिलो बैठकको प्रतिवेदन र बिम्स्टेक सवारीसाधन सम्झौतासम्बन्धी कार्यदलको पहिलो बैठकको प्रतिवेदन पेश हुनेछ ।
यसैबीच यातायात तथा पारवहन सन्धिसम्बन्धी कार्यटोलीको समेत बैठक आजै छ। परराष्ट्र सचिवले नेतृत्व गर्ने बैठकमा सदस्य राष्ट्रबीच पारवहन सम्झौताको प्रोटोकलको विषयमा बैठकमा छलफल हुनेछ। बैठकको कार्यसूची विवरणअनुसार गत मार्चमा बंगलादेशको ढाकामा भएको राष्ट्रिय सुरक्षा प्रमुखहरुको दोस्रो बैठक, यसै महिना सोही स्थानमा भएको बिमस्टेक संयुक्त कार्यदलको प्रतिआतङ्कवाद र अन्तर्राष्ट्रिय अपराधसम्बन्धी आठौँ बैठकको प्रतिवेदन, बिमस्टेक प्रविधि हस्तान्तरण सुविधासम्बन्धी विज्ञ समूहको चौथो प्रतिवेदनबारे व्यापक छलफल हुनेछ ।
प्रतिक्रिया