कुनै जिम्मेवारी नहुंदा पनि किन् सरकार छाड्दैनन् माओवादी मन्त्री :तलब भत्ताकै लागी सरकारमा बसेको भन्दै आलोचना

कुनै जिम्मेवारी नहुंदा पनि किन् सरकार छाड्दैनन् माओवादी मन्त्री :तलब भत्ताकै लागी सरकारमा बसेको भन्दै आलोचना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले असोज ३१ मै जिम्मेवारीविहीन बनाए पनि माओवादी केन्द्रका मन्त्रीहरूले अहिलेसम्म राजीनामा दिएका छैनन् । कुनै काम र जिम्मेवारी नहुँदा पनि तलब–सुविधाकै लोभले राजीनामा नदिएको भन्दै उनीहरूको आलोचना हुन थालेको छ ।

 

 

माओवादी केन्द्रबाट सरकारमा सहभागी १६ (नौ मन्त्री र सात राज्यमन्त्री) मन्त्री साढे दुई महिनादेखि बिनाविभागीय छन् । सिंहदरबारमा बस्ने ठाउंसमेत नभए पनि उनीहरू सरकारी गाडीमा अंगरक्षकको जत्थासहित हुइकिइरहेका छन् । तलबभत्ता बुझ्ने मात्र नभएर अधिकांश पुल्चोकस्थित मन्त्रीनिवासमै बसिरहेका छन् ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार माओवादीका केही मन्त्रीले बिनाविभागीय रहँदासमेत विभिन्न जिल्लामा अनुगमनमा गएको लाखौं रुपैयांका बिलभर्पाई पेस गरी रकम लिने प्रयास गरिरहेका छन् ।

 

असोज १८ मा माओवादी केन्द्र र  प्रमुख प्रतिपक्षी एमालेले चुनावी तालमेल गर्दै पार्टी एकीकरणसमेत गर्ने घोषणा गरेपछि माओवादी मन्त्री सरकार छाड्ने तयारीमा थिए । तर, सरकारले निर्वाचन सार्न खोजेको भन्दै माओवादीले मन्त्रीहरूलाई फिर्ता बोलाएन ।

 

माओवादीका तर्फबाट कृष्णबहादुर महरा बिनाविभागीय उपप्रधानमन्त्री छन् भने गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, प्रभु साह, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, आशा कोइराला र सन्तकुमार चौधरी बिनाविभागीय मन्त्री छन् ।

 

यसैगरी, मोहम्मद जाकिर हुसैन, रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर विक, गोमा कुंवर र वाङ्दी शेर्पा बिनाविभागीय राज्यमन्त्री छन् । उनीहरू मन्त्रिपरिषद् बैठकमा कहिलेकाही मात्रै सहभागी हुने प्रधानमन्त्री कार्यालयका अधिकारी बताउंछन् । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।