सेवाका नाममा बिरामी ठग्दै निजी ठूला अस्पतालहरु, कारबाहीका लागि प्रहरीलाई जिम्मा

सेवाका नाममा बिरामी ठग्दै निजी ठूला अस्पतालहरु, कारबाहीका लागि प्रहरीलाई जिम्मा


काठमाडौ‌ं – उपत्यकाका ठूला निजी अस्पतालहरुले सेवाका नाममा ठगी गरेको पाइएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा निजी अस्पतालहरुले बिरामीबाट चर्को मूल्य असुलेको पाइएको हो ।

 

विरामीबाट चर्को मूल्य लिएर ठगी गरेको भन्दै थप अनुसन्धानका लागि विभागले सोमवार महानगरीय प्रहरी परिसरमा पत्राचार गरेको छ ।

 

 

विभागले काठमाडौंको धापासीस्थित ग्राण्डी इन्टरनेसनल हस्पिटल, ग्वार्कोस्थित बी एण्ड बी हस्पिटल प्रालि, बाँसबारीको नेसनल इन्टिच्यूट अफ न्यूरोलोजिकल एन्ड एलिड साइन्स (न्यूरो हस्पिटल), थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटल र बसुन्धाराको इसान बाल हस्पिटल विरुद्ध ठगी मुद्दामा थप छानविन गरी मुद्दा दायर गर्न प्रहरी परिसर टेकुमा पठाएको हो ।

 

 

विभागले गत मंसिरमा ती अस्पतालहरुमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा दोषी देखिएपछि वयान लगायतका प्रक्रिया पूरा गरेर विभागले बाँकी अनुसन्धान र मुद्दा प्रक्रियाका लागि प्रहरीलाई पत्राचार गरेको छ ।

 

 

बजार अनुगमनका क्रममा ग्रान्डी हस्पिटलले डाक्टर एण्ड नर्सिङ केयर र नर्सिङ केयर चार्जको नाममा अतिरिक्त शीर्षक थपेर विरामीबाट थप शुल्क असुलेको भेटिएको थियो । बी एन्ड बी हस्पिटलले बेड सर्भिस चार्जका नाममा विरामीबाट अतिरिक्त शूल्क असुलेको देखिएको थियो । त्यस्तै, न्यूरो र नर्भिकले पनि विरामीबाट अतिरिक्त सर्भिस चार्ज लिएको पाइएको थियो ।