अाइर्तबार देशभर कृष्णजन्माष्टमी पर्व मनाइँदै

अाइर्तबार देशभर कृष्णजन्माष्टमी पर्व मनाइँदै


काठमाडौं – भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमी  आज देशभरका कृष्ण मन्दिरहरुमा पूजा आराधना गरेर कृष्ण जन्माअष्टमी पर्व  मनाइँदै छ ।

यसै अवसरमा ललितपुरको पाटनमा रहेको प्रसिद्ध कृष्ण मन्दिर तीन वर्षपछि दर्शनका लागि खुला गरिएको छ। वि.सं. २०७२ को भूकम्पपछि कृष्ण जन्माष्टमीको अवसर पारेर आइतबार सर्वसाधारणका लागि मन्दिर खुला गरिएको हो।

भूकम्पबाट क्षति पुगेयता माथिल्लो तलामा रहेको कृष्णको मन्दिरमा पूजारीबाहेक सर्वसाधारणले भित्र गएर दर्शन गर्न पाएका थिएनन्। कृष्णाष्टमीका दिन खुला गर्न केही दिनअघि मात्रै निर्माण सम्पन्न गरिएको थियो ।

कृष्ण मन्दिरमा बिहानैदेखि श्रद्धालुहरुको घुइँचो लागेको छ। कृष्णको पादुका राखी पूजाको व्यवस्था मिलाइएकाेमा श्रद्धालुहरुले बिहानैदेखि लाइन लागेर पूजाआजा गरिरहेका छन्।

भगवान कृष्णको श्रद्धापूर्वक पूजा आराधना गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ। मन्दिर जान नसकेका श्रद्धालुहरुले व्रत बसी घरघरमा नै कृष्णको पादुका खडा गरेर पूजाआजा गरेका छन्। श्रद्धालुहरुले कृष्ण मन्दिर तथा आ–आफ्ना टोलटोलमा भजनकिर्तन गरेर कृष्णको महिमा गाउने क्रमसमेत जारी छ।

भगवान कृष्णले आफ्नै मामा कंशको बध गरेर अत्याचार र अन्याय गर्नेहरुको जित हुँदैन भन्ने देखाएका कारण हिन्दु धर्मावलम्बीहरुले कृष्ण जन्मिएको दिनलाई महत्वपूर्ण पर्वका रुपमा मनाउँदै आएका छन्।