चिकित्सकले गरे देशभरका स्वास्थ्य सेवा बन्द

चिकित्सकले गरे देशभरका स्वास्थ्य सेवा बन्द


काठमाडाैं– अस्पतालमा उपचारका क्रममा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएमा डाक्टरलाई जेल हाल्ने पछिल्लो कानुनी व्यवस्थाप्रति चिकित्सकहरुले आपत्ति जनाउदै देशभरका स्वास्थ्य सेवा ठप्प पारेका छन् ।

मुलुकी अपराध (संहिता)ऐनमा भदौ १ गते देखि लागु हुने यस्तो कानुनमा चिकित्सकको लापरबाही भएको हो होइन भनि छानबिन गर्ने समिति हुन् आवश्यक रहेको भन्दै भिडले लापरबाही भयो भन्दैमा चिकित्सकलाइ जेल हाल्न नमिल्ने चिकित्सकहरुको भनाइ छ ।

उपचारका क्रममा बिरामीको मृत्यु भएमा डाक्टरलाई जेल सजाय हुने नयाँ कानुनी व्यवस्थाको संशोधन हुनुपर्ने माग गर्दै  नेपाल चिकित्सक संघले आज देशभर स्वास्थ्य सेवा बन्द गराएको छ। आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गराइएको नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी दिए।

यस्तै सोमबार देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द गर्ने, मंगलबार आकस्मिकबाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना बन्द गर्ने, बुधबारदेखि आकस्मिकबाहेक अन्य शल्यक्रिया बन्द गर्ने, बिहीबारदेखि आकस्मिकबाहेक ल्याब तथा रेडियोलोजी सेवा बन्द गर्ने र शुक्रबारदेखि आकस्मिकबाहेक ओपिडीलगायत सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघले जनाएको छ।

के छ एेनमा

मुलुकी फाैजदारी कार्यविधि ऐनको इलाजसम्बन्धी कसुरको दफा २३२ मा लापरवाही वा हेलचेक्र्याइ गरी इलाज गर्न नहुने उल्लेख गरिएको छ । त्यसमा भनिएको छ- ‘कानुनबमोजिम इलाज (उपचार) गर्न पाउने व्यक्तिले कसैको इलाज गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाई लापरवाही वा हेलचेक्र्याइँ गरी इलाज गर्न औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्नु हुँदैन ।’

यदि लापरवाहीपूर्ण कारणबाट ज्यान मर्न गएमा वा अंगभंग भएमा ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा व्यवस्था गरिएको छ । यदि हेलचेक्र्याइँबाट मृत्यु वा अंगभंग भएमा भने ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था गरिएको छ ।

हाल प्रचलनमा रहेको मुलुकी ऐन २०२० मा भने डाक्टरले उपचारमा लापरवाही गरेमा २ वर्षसम्म कैद वा ५ सय जरिवानाको व्यवस्था थियो । उक्त ऐनको इलाज गर्ने महलको ८ नम्बरमा भनिएको छ ‘औषधी चिरफार गर्ने, औषधी मिलाई खुवाउन पाउनेहरुले रोगीको फाइदाका निमित्त सो काम गर्दा होस नपुर्‍याई गफलत वेपर्वाही गरी बेकाइदासँग काम गरेकोबाट रोगी मर्न गएको वा जीउमा जखम हानी पीडा भएको ठहरेमा त्यस्तालाई ५ सय रुपैयाँसम्म जरिवाना वा दुई वर्ष कैद वा दुबै सजायँ हुन्छ ।’

यदि डाक्टरको लापरवाहीले कसैको ज्यान मारेर वा अंगभंग भएमा वा कुनै क्षति पुगेमा लापरवाही गर्ने डाक्टरले पीडितलाई क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था गरिएको छ । हाल प्रचलनमा रहेको मुलुकी ऐन २०२० मा उपचारमा लापरवाही गरेमा क्षतिपूर्तिको व्यवस्था छैन ।

ऐनको दफा २३१ मा बदनियत चिताई उपचार गर्नु भन्नाले निम्न अवस्था उल्लेख गरिएको छ-

ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गर्नु

एक किसिमको इलाज गर्नुपर्नेमा अर्को किसिमको गर्नु

ज्यान मर्छ भन्ने जानी जानी औषधी खुवाउनु वा सिफारिस गर्नु

एउटा अंग चिरफार गर्नुपर्नेमा अर्को अंग चिरफार गर्नु

त्यस्तो अंग बेकम्मा बनाउन वा शरीरबाट अलग गर्ने काम गर्नु ।

यस्तो कसुरबाट ज्यान मरेमा ज्यान मारेसर हुने ।