प्रचण्डले भारत जानुअघि भने – मन्त्रीहरुको कामबारे समिक्षा हुंदैछ, समय आएपछि कडा कदम चाल्छौं

प्रचण्डले भारत जानुअघि भने – मन्त्रीहरुको कामबारे समिक्षा हुंदैछ, समय आएपछि कडा कदम चाल्छौं


काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरुका विषयमा कडा कदम चाल्ने तयारी भइरहेको बताएका छन् । मंगलबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग छलफल गर्दै अध्यक्ष प्रचण्डले अहिलेको क्याबिनेटमा रहेका मन्त्रीहरुका विषयमा समीक्षा भइरहेको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारका विषयमा प्रधानमन्त्री केपी ओलीसँग मिलेर समीक्षा सुरु भएको बताएका हुन् ।

मन्त्रीहरुलाई सचेत बनाउँदै उनले जनताको पक्षमा काम नगर्नेका बारेमा सोच्न सकिने बताए । ‘यो पार्टी वा त्यो पार्टी भन्ने छैन, दुबै अध्यक्ष मिलेर समीक्षा गरिरहेका छौं’, उनले भने, ‘समय आएपछि कडा कदम चालिनेछ ।’

प्रचण्डले जनताको पक्षमा काम गर्न नसक्ने दुईचार जना मन्त्री हट्न सक्ने संकेत पनि गरे । अध्यक्ष प्रचण्डले आफूले बिहीवादेखि भारत भ्रमण गर्न लागेको र त्यो राष्ट्रिय हित र विकासको चाहनाको पक्षमा हुने बताए ।

‘पर्सि इन्डिया जाँदैछु, मेरो रहले होइन, पार्टी एकता भएपछि एउटा अध्यक्ष जानुभयो । अर्को अध्यक्ष आइदिए हुन्थ्यो भन्ने मित्र राष्ट्रको चाहनाका कारण म पर्सि भारत र ६ दिनपछि चाइना जान्छु,’ प्रचण्डले भने, ‘भारत र चीनको भ्रमण राष्ट्रिय हित र विकासको चाहनामा केन्द्रित हुन्छ । सरकारका पक्षविपक्षमा लाग्ने काम हुँदैन । यी सबै गलत अफवाह र भ्रमपूर्ण कुरा हुन् ।’