नेपाल-चीन अधिकारीबीच तेस्रो बैठक काठमाडौंमा सुरु

नेपाल-चीन अधिकारीबीच तेस्रो बैठक काठमाडौंमा सुरु


काठमाडौं – प्रधामन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका नेपाल–चीन पारवहन तथा व्यापार सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रुप दिन दुवै देशका अधिकारीहरुको तेस्रो बैठक काठमाडौंमा सुरु भएको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा पारबहन यातायात सम्झौताको प्रोटोकललाई असोज १५ गते भित्र टुंग्याई सक्ने सहमति भएको थियो। सोही सहमतिलाई कार्यान्वयनमा ल्याउन बुधबार दुवै देशका अधिकारीहरु छलफलमा जुटेका छन् ।

बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैँजुले र चीनको यातायात विभागमा महानिर्देशक वाङ सिपिङले गरेका छन्। बैठकमा नेपाली पक्षबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिहरु सहभागी रहेका छन्।

प्रधानमन्त्रीको रुपमा सन् २०१६ मा केपी ओली चीन भ्रमणमा जाँदा दुई मुलुकबीच पारबहन यातायात सम्झौंता गर्ने सहमति गरिएको थियो। सोही सहमति कार्यान्वयनका लागि दुई देशका सहसचिव स्तरीय बैठक सुरु गरिएको हो। दुई दिनसम्म चल्ने बैठकले सो सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सैँजुले जानकारी दिए।