मानसराेवरबाट राहुलले ट्वीट गर्दै भने : कैलाशले बाेलाएर अाएकाे हुँ

मानसराेवरबाट राहुलले ट्वीट गर्दै भने : कैलाशले बाेलाएर अाएकाे हुँ


काठमाडौँ – कैलाश मानसरोवरको यात्रामा रहेका भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले प्रतिकात्मक ट्वीट गरेका छन् ।  राहुल गान्धी गएको शुक्रबार काठमाडौँ आएका थिए । भाेलीपल्ट शनिवार चीनकाे ल्हासा हुदै मानसराेवर पुगेका थिए ।

मानसराेवर पुगेर अाफ्नाे धार्मिक यात्राका विषयमा ट्वीट मार्फत बुधबार विहान प्रतिकात्मक सन्देश प्रवाह गरेका छन् । उनले ट्वीटमा कैलाशले जसलाई बोलाउँछ उसैले यात्रा गर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘जब कैलाशले बोलाउँछ र जसलाई बोलाउँछ उ यात्रामा निस्कन्छ । यो अवसर पाएकोमा म निकै खुशी छु र यो सुन्दर यात्रामा देखिएका कुरा बाँड्न पाउँदा उत्साहित छु ।’ कैलाश यात्रा ह्यासट्यागमा उनले ट्वीट गरेका छन् ।

त्यसपछि गरिएको ट्वीटमा राहुलले कैलाश मानसरोवरको सुन्दर दुई तस्बिर पोस्ट गरेका छन् । उनले लेखेका छन्, ‘मानसरोवरको पानी निकै निस्चल र शान्त छ । यसले सबथोक दिन्छ र केही पनि गुमाउँदैन । जसले पनि यहाँको पानी पिउन सक्छ । यसमा घृणा छैन । यसैले हो हामीले पानीलाई पूजा गर्ने ।’

राहुलको धार्मिक यात्रालाई लिएर भारतीय जनता पार्टीले विभिन्नथरीका प्रश्न गर्दै आएको छ । सत्तामा रहेको भाजपाले राहुलको यात्रा धार्मिक मात्रै नभएर चीनसँगको सम्बन्धका रुपमा चित्रित गरेको थियो ।