काठमाण्डु – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा बोल्दै भने, ‘अर्थतन्त्रमा केही समस्या भए पनि काबु बाहिरको अवस्था छैन । अर्थतन्त्रलाई सुदृढ गर्न सकिन्छ ।’
अर्थतन्त्र नकारात्मक बाटोतिर गइरहेका बेला मन्त्रालयको जिम्मेवारी सम्हालेका पौडेल आएपछि केही सकारात्मक सूचक देखिएका छन् । जसका आधारमा अर्थमन्त्री पौडेल विश्वस्त देखिएका छन् ।
अर्थमन्त्री पौडेल नियुक्त भएपछि शेयर बजार एकैदिन ५९ अंकले बढ्यो । शेयर बजार उकालो लाग्नेक्रम निरन्तर चल्दै नेप्से परिसूचक २१४५ अंकमा पुगेको छ । नेप्से परिसूचक विगत ४ महिनादेखि २ हजार अंकमाथि पुग्न सकेको थिएन । शेयर बजारमा सुधार भएसँगै लगानीकर्ता उत्साहित भएका छन् । बैंकहरूमा समेत निक्षेप वृद्धि हुँदै गएको छ ।
अर्थमन्त्री पौडेल निजी क्षेत्रको सहकार्यमै आर्थिक गतिविधिलाई अगाडि बढाउने छविका रूपमा परिचित छन् । उनी यसअघि पनि अर्थमन्त्री हुँदा अर्थतन्त्र सकारात्मक लयमा थियो । निजी क्षेत्रले अर्थमन्त्री पौडेललाई भरोसा गर्ने गरेको छ ।
अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रले अर्थमन्त्री पौडेललाई सुझाव समेत दिइरहेको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले अर्थमन्त्री पौडेललाई भेटेर अर्थतन्त्रलाई पुनर्जीवित गराउन आग्रह गरेको छ । मागमा आएको उच्च संकुचन, उच्च व्याजदर, लगानीयोग्य पुँजीको अभावजस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको बताउँदै परिसंघले उद्योगी व्यवसायीको घट्दो मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जीवित गर्ने नीति अबलम्बन गर्न परिसंघले आग्रह गरेको छ ।
व्यवसायीको मनोबल उकास्न तत्काल २ प्रतिशतसम्म प्रतिमहिना ब्याजदर घटाउनुपर्ने परिसंघको सुझाव छ । चालू पुँजी कर्जा निर्देशिका पुराना ग्राहकहरूका लागि २ वर्षसम्म स्थगित गर्नसके सकारात्मक सन्देश सञ्चार गरेर व्यवसायीलाई उत्साहित गराउन सकिने सुझाव पनि परिसंघले दिएको छ । अर्थमन्त्री पौडेलले निजी क्षेत्रको सुझावलाई सकारात्मक रूपमा लिएर निर्देशिका संशोधन गरेर कार्यान्व्यन समेत गरिसकेका छन् ।
अर्थमन्त्री एक्लै मात्रै होइन, सरकार नै पनि अर्थतन्त्र सुधारमा संवेदनशील देखिएको छ । नयाँ सरकारको पहिलो बैठकले नै अर्थतन्त्र सुधार सम्बन्धी निर्णयहरू गरेको छ । वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्ने निर्णय सरकारले गरेको छ । तरलता संकुचन, उच्च व्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको दबाब तथा पुँजी बजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने निर्णय गरिएको छ ।
अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न, राजस्वको लक्ष्य प्राप्त गर्न एवं आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रसँग सहकार्य र सहयोगलाई वस्तुपरक रूपमा घनिभूत गराउने निर्णय पनि गरिएको छ ।
सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न प्रतीकात्मक रूपमा यसै आर्थिक वर्षदेखि राष्ट्रसेवकको भएका तलब वृद्धि कम्तीमा यस आर्थिक वर्षका लागि मन्त्रिपरिषद्का सदस्यहरूले नलिने निर्णय सरकारले गरेको छ । मन्त्रीहरूले बढेको तलब नलिँदा सकारात्मक सन्देश प्रवाह हुने आशा गरिएको छ । विकासका कामलाई तीव्रता दिएर आर्थिक गतिविधि चलायमान बनाउने विषयमा समेत सरकारले निर्णय लिएको छ ।
अर्थमन्त्री पौडेलप्रति निजी क्षेत्र आशावादी हुनुको अर्काे प्रमाण हो – विराटनगरका व्यवसायीको आन्दोलन स्थगित हुनु । चर्को व्याजविरुद्ध आन्दोलनमा उत्रिएका विराटनगरका व्यवसायीले अर्थमन्त्री पौडेलप्रति आशावादी हुँदै आन्दोलन स्थगित गरेका छन् । अर्थमन्त्री पौडेलले व्यवसायीलाई वार्तामा बोलाएर आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया