डडेल्धुरा – डडेल्धुराबाट प्रतिनिधिसभाको चुनाव जितेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदारले अझैं खर्च विवरण बुझाएका छैनन् ।
प्रतिनिधिसभातर्फ वाम गठबन्धनका साझा उम्मेदवार खगराज भट्ट, नेपाल दलित पार्टीका रमेश टमटा र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका लक्ष्मीदत्त भट्टले खर्च विवरण नबुझाएको निर्वाचन कार्यालयले जनाएको छ।
प्रदेशसभा (क) मा विजयी वाम गठबन्धनका पठनसिंह बोहराले पनि खर्च विवरण पेस गरेका छैनन् । यस्तै प्रदेशसभा (ख) मा विजयी कर्णबहादुर मल्लले पनि खर्च विवरण नबुझाएको कार्यालयले जानकारी दियो । वाम गठबन्धनबाट प्रदेशसभा (ख) मा उम्मेदवार बनेका एमालेका डा. ताराप्रसाद जोशी र नेपाल दलित पार्टीका रामबहादुर टमाटाले समेत खर्च विवरण बुझाएका छैनन्।
गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका डडेल्धुराका १४ उम्मेदवारमध्ये ६ उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका छन् । निर्वाचनको मतपरिणाम प्रकाशन भएको ३ साताभन्दा पनि बढी बितिसक्दा समेत अझै ८ जना उम्मेदवारले खर्च विवरण बुझाएका छैन्न । प्रतिनिधिसभाको निर्वाचनमा खर्च विवरण बुझाउने उम्मेदवारमा राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बनेका लालबहादुर जाग्री र स्वतन्त्र उम्मेदवारी दिएका कर्णसिंह रावल मात्रै रहेको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनायो।
प्रदेशसभा निर्वाचनतर्फ खर्च विवरण बुझाउने उम्मेदवारमा नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा (क) का उम्मेदवार रघुवर भट्ट, राष्ट्रिय यथार्थवादी पार्टी नेपालबाट प्रदेशसभा (क) का उम्मेदवार लालबहादुर दमाईं, राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रदेशसभा (क) का उम्मेदवार चन्द्रसिंह बोहरा र राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रदेशसभा (ख) का उम्मेदवार पदमबहादुर ओली रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी कृष्णसिंह नायकले जानकारी दिए।
खर्च विवरण बुझाउने ६ जना उम्मेदवार प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए । ६ जनाले निर्वाचन आयोगको सीमाभन्दा कम खर्च भएको विवरण पेस गरेको निर्वाचन अधिकारी नायकले बताए।
राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका जाग्रीले एक लाख ५२ हजार खर्च गरेको विवरण पेस गरेका छन् भने स्वतन्त्र उम्मेदवारी दिएका कर्णसिंह रावलले ४ लाख ४१ हजार खर्च भएको विवरण पेस गरेको निर्वाचन कार्यालयले जनायो।
यस्तै भट्टले ९ लाख ५५ हजार, दमाईंले ६ लाख १२ हजार पाँच सय, बोहराले ७७ हजार ओलीले ८२ हजार खर्च गरेको विवरण पेस गरेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया