नवलपुरमा कारागार नहुँदा चितवनमा कैदीबन्दीको चाप

नवलपुरमा कारागार नहुँदा चितवनमा कैदीबन्दीको चाप


चितवन – छिमेकी जिल्ला नवलपुर (पूर्वी नवलपरासी) मा अदालत र प्रशासन भएर पनि कारागार नहुँदा चितवनमा कैदीबन्दीको चाप बढेको छ । नवलपुरबाट पुर्पक्ष र कैद भुक्तानका लागि कैदीबन्दी यहाँ पठाउने गरिएको छ ।

क्यान्सर रोगलगायत अन्य रोगको उपचार सहज भएका कारण अन्य जिल्लाबाट समेत कैदीबन्दीको उपचार गराउन चितवन पठाउने गरिन्छ । ती कैदीबन्दीको चाप झेलिरहेको कारागारले छिमेकी जिल्लाको भारसमेत थेग्नुपरेकाले चाप बढेको हो ।

जिल्ला कारागार चितवनका सूचना अधिकारी रामबाबु श्रेष्ठका अनुसार नवलपुरबाट हालसम्म ७५ जना कैदीबन्दी यहाँ पठाइएका छन् । नवलपुरमा गत वर्षको माघ १८ गतेबाट कैदीबन्दी पठाउन थालिएको हो ।

श्रेष्ठका अनुसार कारागारको क्षमता २५५ रहेको छ । हाल कारागारमा ६२५ कैदीबन्दी रहेका छन् । जसमध्ये एक आश्रित बच्चा, ५९ महिला र अन्य पुरुष रहेका छन् । क्षमताभन्दा अत्यधिक बढी कैदीबन्दी भएपछि समय समयमा अन्य कारागारमा स्थानान्तरण गर्ने गरिएको छ ।

कैदीबन्दी क्षमताभन्दा बढी भएपछि साउनयता ४८ लाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको हो । २० लाई भीमफेदी, १७ लाई वीरगञ्ज, चारलाई धादिङ र सातलाई रुपन्देही बालसुधार गृहमा स्थानान्तरण गरिएको छ । फौजदारी संहिताअनुसार १८ वर्षमुनिका कैदीबन्दीलाई सुधारगृहमा राख्नुपर्ने हुन्छ ।

कारागारका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपरासी जिल्ला दुईवटा बनेपछि दाउन्ने पूर्व अदालत भएर पनि कारागार छैन । त्यहाँ फैसला गरिएका कैदीबन्दीलाई यहाँ ल्याउने गरिएको छ । कारागारमा हाल क्यान्सरका तीन जना, उच्च रक्तचापका ३६ जना, मधुमेहका २० जना, हेपटाइटिस बी का एक जना, हेपटाइटिस सी का एक जना, चर्मरोगका १५० र थाइराइडका दुई जना बिरामी छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएपछि सरुवा रोग फैलिने गरेको छ । हाल कैदीबन्दीमध्ये २५ लाई भाइरल ज्वरोको सङ्क्रमण रहेको छ ।