राजपाका नेता भन्छन्, ‘ओलीभन्दा प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो’

राजपाका नेता भन्छन्, ‘ओलीभन्दा प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो’


काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेशको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दा राम्रो हुने बताएका छन्।

 

 

 

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता झाले संघीयता, समावेशी–समानुपातिकका लागि प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो हुने बताएका हुन्।

 

 

उनले प्रचण्ड र ओलीमध्ये प्रचण्ड नै उदार नेता भएको पनि बताए। ‘प्रचण्ड समावेशी, समानुपातिकमा काम गरेको नेता हो। उहाँ लिवरल हुनुहुन्छ,’ झाले भने।
खस, बाहुन र क्षेत्री नेताहरुमध्ये संघीयता र समावेशीताको पक्षमा काम गरेको नेता प्रचण्ड भएको उनको भनाई थियो।

 

 

त्यस्तै, झाले वर्तमान सरकारलाई सबै अधिकार भएकोले ढिलो नगरीकन प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नुपर्ने बताए।

 

 

 

‘हामीले त सर्वदलीय बैठकमा पनि भनिदिऔं कि तपाईको सरकार छ, तपाईले नै गर्नुहोस् भनेर म्याण्डेट दिऔं, प्रदेश प्रमुखको नियुक्ती, मिति तोक्ने विषयमा छलफल भएको थियो । हामीले त बडा प्रष्ट रुपमा भनिदिएका थियौं कि यस्तो विवादित विषयमा सबैलाई मिसाउने काम गर्नुभएन नि,’ उनले भने।

 

 

 

सरकारलाई नै सबैले अधिकार दिएकोले अब तत्काल प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नुपर्ने नेता झाको भनाई थियो।