काठमाण्डु- नेपालमा भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगति र समस्यालगायतका विषयमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय अधिकारीसँग छलफल गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेटका लागि पगेका भारतीय विदेश मन्त्रालका अतिरिक्त सचिव प्रभात कुमारलगायतका अधिकारीलाई भौतिक पूर्वाधारका आयोजनालाई शीघ्र अगाडि बढाउन उनले आग्रह गरेका हुन् ।
भारतीय सहयोगमा सञ्चालित जनकपुर- जयनगर रेलमार्ग, भारतीय आयात निर्यात (एक्जिम) बैंकको ऋण सहयोगमा अगाडि बढेका आयोजनालगायतका बारेमा उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक चासो राख्दै सहजीकरणका लागि भारतीय सचिवलाई आग्रह गरे मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिएका छन् ।
“शिष्टाचार भेटवार्ता भएकाले मिहिन तरिकाले आयोजनाका समग्र पाटा र पक्षका बारेमा छलफल त भएन, तर समस्या समाधान गर्ने तथा शीघ्र आयोजना सम्पन्न गर्ने विषयमा महत्वपूर्ण छलफल भएको छ”, सचिव शर्माले भने । यस्तै, काठमाण्डु- रक्सौल रेलमार्ग तथा अन्य परियोजनाका बारेमा महत्वपूर्ण छलफल भएको उहाँको भनाइ छ । सो रेलमार्गको विस्तृत डिजाइनको काम भइरहेको छ । छलफल निरन्तर अगाडि बढाउने र परियोजनामा देखिएका समस्या समाधानका लागि सबै उपायको खोजी गर्ने विषयमा त्यस अवसरमा महत्वपूर्ण विचार आदानप्रदान भएको थियो ।
प्रतिक्रिया