बेगनासमा डुंगा दुर्घटना : ६ जनाको शव भेटियो

बेगनासमा डुंगा दुर्घटना : ६ जनाको शव भेटियो


काठमाडौं – शनिबार बेगनासतालमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका ६ जनको शव आईतबार भेटिएको छ ।  बेगनासमा गणेश कँडेलको घरमा तीजको दर खान गएका आफन्तहरु चढेको डुंगा डुबेको थियो ।

बेपत्ता ५ वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनिशा बजगाईं, ८ वर्षीय शिव खनाल, ७ वर्षीय शंकर खनाल र ४ वर्षीय रञ्जित गैरको शव आइतबार बिहान भेटिएको हो । ३२ वर्षीय रवी खनालको आइतबार दिउँसो शव फेला परेको छ ।

घटनालगत्तै उद्धार गरिएका चार जनामध्ये उपचारका क्रममा दुई जनाको शनिबारै मृत्यु भएको थियो। डिएसपी रवीन्द्रमान गुरुङका अनुसार पोखरा उपमहानगरपालिका-२८ की कृष्णकुमारी बजगाईं र तनहुँ भिमादकी जानुका गैरेको मृत्यु भएको हो। दुर्घटनामा परेका सरला खनाल र निशा पौडेल उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।

दुर्घटनाको एकिन कारण खुलेको छैन। डिएसपी गुरुङले भने, ‘बच्चाहरू आपसमा चल्दा दुर्घटना भएको पनि अनुमान छ भने डुंगामा पानी पसेर डुंगा डुबेको हो भन्ने आशंका पनि गरिएको छ।’ प्रहरीका अनुसार डुंगा सयर गर्दा लाइफ ज्याकेट लाउनुपर्ने भए पनि उनीहरूले लगाएका थिएनन्। लाइफ ज्याकेटले पानीमा डुब्नबाट बचाउने काम गर्छ।‘तर, पारिवारीक जमघट भएकाले उनीहरूले लाइफ ज्याकेट पनि लगाएको देखिएन,’ डिएसपी गुरुङले भने।

पोखरा महानगराका मेयर मानबहादुर जिसीले डुंगा दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् । जिसीले विज्ञप्ति जारी गरी घटनामा निधन भएकाको अमर आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

‘डुंगामा यात्रा गर्दा अपनाउनु पर्ने सावधानी नपनाउँदा वर्षेनी यस्ता दुर्घटना पटकपटक भएका छन्’, मेयर जिसीको विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनाप्रति महानगरको ध्यानाकर्षण भएको र जलयात्रामा अपनाउनुपर्ने सावधानी अपनाएर मात्र यात्रा गर्न आम नगरबासी र सबैमा अनुरोध गर्दछु ।