फुजेलकाण्ड : छविलालको भोलि जेलमुक्त हुँदै, स्वागत गर्न प्रचण्ड डिल्लीबजार कारागार जाने

फुजेलकाण्ड : छविलालको भोलि जेलमुक्त हुँदै, स्वागत गर्न प्रचण्ड डिल्लीबजार कारागार जाने


काठमाडौं– चितवन जिल्ला अदालतले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिएसँगै मुख्य आरोपी भनिएका छविलाल पौडेल सोमबार डिल्लीबजार कारागारबाट थुनामुक्त हुने भएका छन् ।

गत असार २४ गते उनले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका पौडेलले आइतबार सफाइ पाएपछि सोमबार रिहा हुने भएका हुन् । उनी पुर्पक्षका लागि थुनामा थिए।

पौडेल जेलमुक्त हुँदा उनलाई स्वागत गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैं जाने कार्यक्रम तय भएको प्रचण्ड सचिवालयले जानकारी दिएको छ। प्रचण्ड सोमबार बिहान ७ बजे डिल्लीबजार कारागार जानेछन्।

अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश गरेको थियो। अधिकारीको २०६१ साल जेठ २४ मा हत्या भएको थियो ।

छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानमा रहेका मृतक कृष्णका बाबु नन्दप्रसाद अधिकारीको पनि अनशनका क्रममा निधन भएको छ । आमा गंगामायाले भने केही महिनाअघि मात्र अनशन तोडेकी थिइन् ।

फुजेल काण्ड : छविलालसहित १२ जना प्रतिवादीलाई सफाइ