काठमाडाैंमा सिलिण्डर पड्किएर आगलागी हुँदा सात घाइते

काठमाडाैंमा सिलिण्डर पड्किएर आगलागी हुँदा सात घाइते


काठमाडौँ– राजधानीकाे पर्यटकीय क्षेत्र ठमेलकाे ज्याठामा खाना पकाउने एलपी ग्यासकाे  सिलिण्डर पड्किएर आगलागी हुँदा सात जना घाइते भएका छन्।

आज बिहान करीब ४ बजेतिर पानी तान्ने मोटर जोड्ने क्रममा निस्किएको आगोको झिल्काबाट हावामा फैलिएको प्रज्वलनशील ग्यासमा आगो लागेको थियो ।

ज्याठाका स्थानीयवासी सुमन स्थापितको भुइँतलामा ‘ट्रेकिङ’का लागि प्रयोग हुने अक्सिजनका ८० सिलिण्डर थिए । तीमध्ये आगलागीका क्रममा २५ वटा सिलिण्डर पड्किएका थिए ।

सो घटनाका घाइतेमध्ये सुमन स्थापितसहित अन्य चारजनाको राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचार भइरहेको छ भने अन्य तीनजना सामान्य उपचारपछि घर फर्किएका छन् ।

घाइते हुनेमा घरधनी स्थापित विस्फोटमा परेका हुन् भने बाँकी झ्यालबाट हाम फाल्ने क्रममा घाइते भएका हुन् । विस्फोटबाट दुई तलाको एकातर्फको पर्खाल भत्किएको छ । आगलागीबाट छिमेकी कल्पना तुलाधरको घरमा बढी क्षति पुगेको छ भने चोकआसपासका अन्य घरहरुका पर्खाल र ढोका चर्किएका छन् ।

उक्त घटनाबाट घाइते भएकालाई भेट्न पुगेका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले घाइतेलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

वडा नं २७ र आसपास वडा समितिका अध्यक्ष, वडा सदस्य तथा महानगरको विपद् व्यवस्थापन विभागका अधिकारीसहित प्रमुख शाक्या घटनास्थल पुग्नुभएको थियो । आगलागीबाट करीब रु १० लाखको क्षति भएको अनुमान गरिएको छ ।