कुशलको पहिलो शतकमा नामिबियामाथि नेपालको जित

कुशलको पहिलो शतकमा नामिबियामाथि नेपालको जित


काठमाण्डु – नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत पहिलो खेलमा नामिबियाविरुद्ध २ विकेटकाे ऐतिहासिक जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले दिएको २८६ रनको विशाल लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो । यो ओडिआई क्रिकेट इतिहासमा नेपालले पूरा गरेको सर्वाधिक ठूलो योगफल हो ।

नेपालका लागि ओपनर भुर्तेलले कीर्तिमानी शतक प्रहार गरे । कुशल भुर्तेलले नामिबियाविरुद्ध ९९ बलमा शतक पूरा गर्दै कीर्तिमान बनाएका हुन् । भुर्तेल नेपाली ओडिआईमा ओपनरको रुपमा शतक हान्ने पहिलो क्रिकेटर बनेका छन् । भुर्तेलको यो ओडिआई करिअरको पहिलो शतक हो । ओडिआईमा नेपालबाट शतक प्रहार गर्ने उनी चौथो खेलाडी हुन् ।

भुर्तेलले ११३ बलमा १० चौका र ४ छक्काको मद्धतमा ११५ रनको योगदान गरे । उनले कप्तान रोहित पौडलसँग कीर्तिमानी साझेदारीसमेत गरे । तेस्रो विकेटका लागि रोहित र कुशलले १ सय ३३ रनको शतकीय साझेदारी गरेका हुन् । पौडलले ७६ बलमा ७ चौका र ३ छक्काको मद्धतमा ७२ रन बनाए । यस्तै, ज्ञानेन्द्र मल्लले २५ रन, कुशल मल्लले ६ रन, दिपेन्द्र सिंह ऐरीले ७ रन बनाउँदा ओपनर आसिफ शेख भने शून्यमै आउट भए ।

यस्तै, सन्दीप जोराले २८ रन र करन केसीले २४ रन, साेमपाल कामीले ४ रनको योगदान गरे । सन्दीप लामिछाने भने शून्यमै आउट भए । नामिबियाका लागि रुबेन ट्रम्पलम्यान र निकोल लोफ्टी इटनले तीन-तीन विकेट लिए । बर्नार्ड स्कोल्टज र टांगेनी लुंगामेनी समान एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले ५० ओभरमा १० विकेट गुमाउँदै २८५ रन बनाएको थियो । नामिबियाका लागि माइकलले सानदार शतक पारी खेले । उनले १३७ बलमा ९ चौका र ५ छक्काको मद्धतमा १३३ रन जोडे । कप्तान गेर्हार्ड इरास्मसले ५६ रन, ओपनरद्वय लो हान्ड्रे लरेन्सले ५ रन र कार्ल ब्रिकेस्टकले १३ रन जोडे ।