विप्लव समूहका प्रवक्ता प्रकाण्डलाई सर्वोच्चमा उपस्थित गराउने तयारी

विप्लव समूहका प्रवक्ता प्रकाण्डलाई सर्वोच्चमा उपस्थित गराउने तयारी


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई काठमाडौं ल्याउने तयारी भएको छ । सर्वोच्चले यसअघि विश्वकर्मालाई ४८ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको थियो ।

विश्वकर्माको गिरफ्तारीविरुद्ध उनका भाइले आइतबार सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण सम्बन्धीे रिटको सुनुवाइ गर्दै ४८ घण्टाभित्र बन्दीसहित सर्वोच्चमा उपस्थित गराउन सोमबार अन्तरिम आदेश जारी भएको थियो ।

सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेश जारी गरेको हुंदा विश्वकर्मालाई काठमाडौं पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी कृष्णहरि शर्माले जानकारी दिए ।

गत साउन २२ गते उनलाई सात करोड चन्दा उठाएको अभियोगमा काठमाडौंबाट पक्राउ गरिएको थियो । त्यसपछि उनलाई बम बिस्फोट, आगजनी र कर्तव्य ज्यान मुद्दा लगाउंदै देशका विभिन्न जिल्लाहरूमा घुमाउंदै आइएको छ ।