काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र पोलिटब्युरो सदस्य उमा भुजेललाई बिहिबार सर्वोच्च अदालतमा उपस्थित गराइएको छ।
बिहिबार विमानबाट प्रवक्ता प्रकाण्डलाई दाङबाट नेपालगन्ज हुँदै काठमाडौं ल्याइएको थियो। उनलाई शुक्रबार भोजपुरबाट दाङ लगिएको थियो। जिल्ला अदालत दाङले ८ दिनको म्याद तोके पनि नसकिँदै सर्वोच्चले काठमाडौं झिकाउन पत्र काटेपछि प्रकाण्डलाई सर्वोच्चवमा उपस्थित गराइएको हो।
प्रदेश तथा प्रतिनिधिसभाको चुनावका बेला कांग्रेसले आयोजना गरेको सभालाई बिथोल्न बम विस्फोट गराएको र म्यादी प्रहरीको हत्या गरेको आरोप प्रकाण्डलाई छ।
उमा भुजेललाई भने नुवाकोटबाट झिकाइएको हो। गत बैसाख १ गते काभ्रेको नमोबुद्ध नगरपालिका ६ स्थित एक पसलमा आगजनी गरेको आरोपमा उनी पहिलो पटक भदौ १२ गते पक्राउ परेकी थिइन्। सर्वोच्च अदालतको आदेशअनुसार भदौ २२ गते रिहा भएलगत्तै पुन : पक्राउ परेकी उनलाई नुवाकोट लगिएको थियो।
प्रतिक्रिया