पार्टी एकीकरणलाई जटिल नबनाउन एमालेको निर्देशन

पार्टी एकीकरणलाई जटिल नबनाउन एमालेको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एमालेले पार्टी एकताका विषयमा सार्वजनिक रूपमा कुनै पनि अडान र सर्त राखेर एकीकरण प्रक्रियालाई जटिल नबनाउन नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । स्थायी समितिको सोमबारको बैठकले नीति, नेतृत्व र एकताका विषयमा निजी धारणा बाहिर ल्याएर एकीकरण प्रक्रियालाई असहज नबनाउन पार्टीपंक्तिलाई निर्देशित गरेको हो ।

 

 

 

अध्यक्ष केपी ओलीनिवास बालकोटमा बसेको बैठकले निकट भविष्यमै एकीकृत कम्युनिस्ट पार्टी निर्माण हुने कुराप्रति निश्चिन्त हुन पार्टीपंक्तिलाई आह्वान पनि गरेको छ । बैठकमा ओलीले आइतबार माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पार्टी एकतालाई गति दिने सम्बन्धमा भएको समझदारी र पछिल्लो विकसित राजनीतिक परिस्थितिका विषयमा ‘ब्रिफिङ’ गरेका थिए ।

 

 

 

‘दुवै पार्टीबीच निकट भविष्यमै एकीकरण भएर एकीकृत कम्युनिस्ट पार्टी निर्माण हुने कुराप्रति निश्चिन्त हुन, यस सम्बन्धमा विभिन्न ढंगले व्यक्त हुने कुनै पनि भ्रम, अफवाह या अनुमानबाट प्रभावित नहुन सिंगो पार्टीपंक्ति र आमनेपाली जनतालाई यो बैठक आह्वान गर्दछ,’ बैठकपछि सचिवालय सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एकीकरणका सम्बन्धमा सार्वजनिक रूपमा कुनै पोजिसन, अडान या सर्त तेस्र्याउने कुराले एकताको प्रक्रियालाई नसघाउने बरु उल्टै जटिल बनाउने हुनाले यसो नगर्न सम्बद्ध सबैको ध्यानाकर्षण गर्दछ ।’

 

 

दुवै पार्टीले अवलम्बन गर्दै आएका नीति र त्यसको सत्यता पुष्टि हुँदै गएको छ, त्यसकै आधारमा एकता हुने हो । पार्टी एकता नेतृत्व तहबाटै सुविचारित ढंगले अघि बढिरहेको हुनाले अनुमान गर्ने, आ–आफ्नै ढंगले प्रस्ताव अघि सार्ने, कसैले पनि पोजिसन (अडान) लिएर, यो हुनुपर्छ, त्यो हुनुपर्छ भन्दै छलफलै नभएका प्रस्ताव सार्ने कुराले एकतालाई सघाउ पुर्‍याउँदैन । त्यसैले तपाईंहरू सबै जिम्मेवार बन्नुस्, छलफलै नभएका विषयहरूलाई मनोगत आधारमा बाहिर लगेर एकता प्रक्रियामा असहजता पैदा गर्ने काम नगर्नुस् । हामी निर्णायक बिन्दुतर्फ अघि बढिरहेका छौँ । निकट भविष्यमै पार्टी एकता सम्पन्न हुन्छ, निश्चिन्त हुनुस्।

 

 

 

एकताको गृहकार्य गर्न दुई कार्यदल

 

बैठकमा अध्यक्ष ओलीले पार्टी एकता टुंग्याउन मंगलबार बस्ने एकता संयोजन समितिको बैठकले दुईवटा कार्यदल बनाउने तयारी भएको जानकारी गराएका थिए । दुवै पार्टीका नीति, सिद्धान्त र वैचारिक पक्ष मिलाउन र केन्द्रदेखि तल्लो कमिटीसम्म सांगठनिक एकताका लागि छुट्टाछुट्टै कार्यदल बनाएर एकता संयोजन समितिले एकता प्रक्रियालाई गति दिने बैठकमा ओलीको भनाइ थियो ।
एमालेसँग पार्टी एकताको विषयमा माओवादी शीर्ष नेताबीच छलफल भएको छ । मंगलबार बस्ने एकता संयोजन समिति बैठकको पूर्वतयारीस्वरूप सोमबार अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलबीच छलफल भएको हो । ‘मंगलबार बस्ने एकता संयोजन समितिको बैठकमा उठाउने एजेन्डाका विषयमा छलफल भयो,’ प्रचण्ड सचिवालय स्रोतले भन्यो, ‘दुई पार्टी सम्मिलित एकता कार्यदलमा कुन–कुन नेताले विचार राख्ने तथा कार्यदिशासम्बन्धी कार्यदलका विषयमा कसरी जाने, कुन नेतालाई राखेर जाने भन्ने विषयमा छलफल केन्द्रित भयो ।’

 

 

 

 

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डको पावर सेयरिङका विषयमा विभिन्न मोडालिटीका विषयमा छलफल भएको छ । माओवादी केन्द्रका नेता श्रेष्ठले एकता संयोजन समितिको पूर्वतयारीस्वरूप छलफल भएको बताए ।

 

 

 

नेता जनार्दन शर्माले एमाले–माओवादी एकता एक डेढ महिनाभित्र पूरा हुने बताए । ‘पार्टीभित्र कतिपय विषय छलफल भए पनि बाहिर ल्याउँदा राम्रो हुँदैन,’ शर्माले भने, ‘सबै विषय परिपक्व भएपछि मात्र एकताको विषय बाहिर ल्याउँछौँ ।’ आजको नयाँ पत्रिकामा खबर छ ।