१५ जनाको जम्बो टिम लिएर उपराष्ट्रपति असोज ३ गते चीन जांदै

१५ जनाको जम्बो टिम लिएर उपराष्ट्रपति असोज ३ गते चीन जांदै


काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ छिमेकी मुलूक चीनको औपचारिक भ्रमणमा जाने टुंगो लागेको छ । पुनका प्रेस संयोजक मनोज घर्ती मगरकाअनुसार उपराष्ट्रपति  ६ दिने भ्रमणका लागि असोज ३ गते चीन प्रस्थान गर्ने कार्यक्रम छ । उपराष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएपछि उनको यो पहिलो वैदेशिक भ्रमण हो ।

सिचुवान प्रान्तको राजधानी छन्दुमा असोज ४ गतेदेखि सुरु हुने ‘१७ औं चीन पश्चिम अन्तर्रा्ष्ट्रिय मेला’मा सहभागी हुन उपराष्ट्रपति चीन जान लागेका हुन्  । उनले असोज ४ गते अन्तर्रा्ष्ट्रिय मेलाको उद्घघाटन समारोहलाई नेपालको तर्फबाट संबोधन गर्ने कार्यक्रम छ । ‘चीनमा नयां क्षेत्र, पश्चिमी चीनमा नयां विकास’ भन्ने मुख्य नाराका साथ आयोजना भएको मेला असोज ८ गतेसम्म आयोजना हुनेछ ।

उपराष्ट्रपतिले असोज ५ गते अन्तर्रा्ष्ट्रिय मेलाको अवसरमा छेन्दूमा आयोजित डिजिटल फोरमलाई संबोधन गर्ने कार्यक्रम छ ।  चीनमा रहंदा उनले चीन सरकारका उच्च पदाधिकारीहरु, चिनियां कम्यूनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्तका पदाधिकारी, सरकारी प्रतिनिधिहरुसंग भेटवार्ता गर्नेछन् ।  पुनले सिचुवानको विकास परियोजना लगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमण समेत गर्ने कार्यक्रम रहेको मगरले बताए ।

उपराष्ट्रपतिको भ्रमण टोलीमा करिब १५ जना सहभागी हुनेछन् । भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, उपराष्ट्रपतिका स्वकीय सचिवालय र सुरक्षा अधिकारी लगायत सहभागी हुनेछन् ।

सिपिसीका सिचुवान प्रान्त सचिव फङ छिङह्वा र चिनियां जनसरकारका सिचुवान प्रान्तका गभर्नर यिन लिले मेला आयोजक समितिको तर्फबाट गरेका निमन्त्रणामा चीन जान लागेका उपराष्ट्रपति पुन असोज ८ गते स्वदेश फर्कर्ने कार्यक्रम छ ।  अघिल्लो कार्यकालमा उपराष्ट्रपति पुनले दुई पटक चीनको औपचारिक भ्रमण गरेका थिए ।