नवनिर्वाचित राष्ट्रपतिलाई सभामुखले दिए बधाई, शपथमा उपस्थित हुने नसक्ने जानकारी

नवनिर्वाचित राष्ट्रपतिलाई सभामुखले दिए बधाई, शपथमा उपस्थित हुने नसक्ने जानकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई आज बिहान उनकै निवासमा पुगेर बधाई ज्ञापन गरेका छन् । मुलुकको राष्ट्राध्यक्षमा निर्वाचित भएकामा पौडेललाई सफल कार्यकालका लागि सभामुख घिमिरेले शुभकामनाका साथ बधाई ज्ञापन गरेका हुन् ।

सत्ता साझेदार गठबन्धनको साझा उम्मेदवारका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल बिहीबार भएको निर्वाचनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

सभामुख घिमिरेले बहराइनमा शनिबारदेखि हुने अन्तर व्यवस्थापिका सङ्घको एक सय ४६औँ बैठकमा भाग लिन आफू आज त्यसतर्फ जान लागेको पनि सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई जानकारी गराए ।

उक्त बैठकमा जाने कार्यक्रम यसअघि नै निर्धारण भइसकेकाले नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ कार्यक्रममा सहभागी हुन नपाउने व्यहोरासमेत सभामुख घिमिरेले जानकारी गराएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेलले उक्त बैठकका लागि नेपालका तर्फबाट सफलताको शुभकामना व्यक्त गरेका थिए । रासस