बिमस्टेक राष्ट्रबीचको सैन्य अभ्यासमा नगएको नेपाली सेनाको टाेली भोलि चीन जाँदै

बिमस्टेक राष्ट्रबीचको सैन्य अभ्यासमा नगएको नेपाली सेनाको टाेली भोलि चीन जाँदै


काठमाडौं– नेपाली सेनाको टोली चीनमा हुन लागेको संयुक्त सैन्य अभ्यासका लागि चेङ्डु जाने भएको छ।

‘सगरमाथा मैत्री २’ मा भाग लिन नेपाली सेनाको एक टोली सोमबार चीनको सिचवान प्रान्तको राजधानी चेङ्डु जाने भएको हो। त्यहाँ असोज १ देखि १३ गतेसम्म सैन्य अभ्यास हुने नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए। उनका अनुसार ‘प्रोटस माइनस’ अर्थात १६ जनाको टोली हुनेछ।

उक्त सैन्य अभ्यास प्राकृतिक प्रकोप उद्धारसँगै आतंकवादविरुद्ध लक्षित छ। यसअघि नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास २०१६ अप्रिलमा भएको थियो ।

यसअघि भदौ २५–३१ सम्म भारतको पुणेमा भएको बिम्स्टेक सदस्य राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता जनाएको थिएन। उक्त सैन्य अभ्यास र चीनसँग भइरहेको सैन्य अभ्यास नै फरक रहेको रक्षा मामिलाका जानकार बताउँछन्।

रक्षा मामिलाका एक जानकारले भने, ‘पुणेमा भएको सैन्य अभ्यासले पाकिस्तानलाई अलग्याउने र चीनलाई चिढाउनेतर्फ उन्मूख रहेको र त्यसमा नेपाल तठस्थ हुनुपर्ने माग उठेपछि सरकार अन्तिम समयमा आएर पछि हटेको हो। तर, चीनसँग हुन गइरहेको अभ्यास नियमित हो।’

नेपाली सेनाका अनुसार यस प्रकारको सैन्य अभ्यास चीनसँग मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, अमेरिका, बेलायत लगायतका देशहरुसँग हुँदै आएको छ।