काठमाडौं– उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालकाे केन्द्र र प्रदेशमा विवाद चर्किएकाे छ । केन्द्रीय समितीले संबिधान दिवस उत्साहका साथ मनाउने निर्णय गरेकाे छ भने प्रदेश सरकारले विज्ञप्ति निकालेर कालाे दिवसका रूपमा मनाउने जनाएकाे छ ।
केन्द्रले एक विज्ञप्ति जारी गरी संविधान संशोधन गर्न सरकार सहमत भइसकेको अवस्थामा कालो दिवस मनाउने जस्ता कार्यक्रमहरुमा सहभागी नहुने सबै पार्टीपंक्तिलाई निर्देशन दिएको छ ।
फोरम नेपालका उपमहासचिव प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानसभाबाट जारी भएको नेपालको संविधानप्रति असहमति, विरोध र फरक धारणा यथावत रहेपनि वर्तमान परिस्थितिमा संविधान संशोधनको माध्यमबाट संविधान संशोधन र परिमार्जन गर्दै संविधानमा रहेका कमिकमजोरीहरुलाई सच्याउँदै प्राप्त अधिकारहरुलाई संरक्षण गर्ने दायित्व रहेको छ ।’
थप अधिकार प्राप्त गर्न पार्टी र सरकारमा रहेका दलहरुसँग समझदारी भएको भन्दै फोरमले कालो दिवस मनाउने जस्ता कार्यक्रमहरुमा सहभागी नहुन र यसबारे अन्य कुनै भ्रममा नरहन समेत आग्रह गरेको छ ।
फोरम नेपालको मधेश प्रदेश समितिले हिजो असोज ३ गते संविधान दिवस बहिस्कार गरी कालो दिवस मनाउने निर्णय गरेको थियो ।
संविधान दिवसको कुनै पनि कार्यक्रम सहभागी नहुन प्रदेश २ का जनप्रतिनिधिलाई समितिका संयोजक एवं पार्टीका उपाध्यक्ष रेणु यादवले निर्देशन दिएकी थिइन् । सो निर्णय प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले पनि नमान्ने बताएका थिए ।
प्रतिक्रिया