राष्ट्रिय सुरक्षा परिषद्को बैठक: राष्ट्रिय सुरक्षा नीति संशोधन गर्ने तयारी 

राष्ट्रिय सुरक्षा परिषद्को बैठक: राष्ट्रिय सुरक्षा नीति संशोधन गर्ने तयारी 


काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो राष्ट्रिय सुरक्षा परिषद्को बैठक पहिलो पटक बसेको छ । सिंहदरवारस्थित परिषद्को सचिवालयमा बसेको बैठकले परिवर्तित सन्दर्भमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सुदृढिकरण गर्न यस्को पुर्नसंरचना गर्ने काम अगाडि बढाउने निर्णय गरेको छ ।

परिषदका अध्यक्ष एवं  प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकमा संविधानको धारा २६६ (३) अनुसार राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्ने मस्यौदा प्रतिवेदन उपर छलफल गरि अन्तिम रूप दिने निर्णय गरेको छ ।

प्रतिवेदनमा राष्ट्रिय सुरक्षा परिषद्ले सम्पादन गरेका कामहरुका साथै परिषद सचिवालयवाट सम्पादन भएका कामहरु समेत उल्लेख रहेको प्रवक्ता ऋषि राजभण्डारीले बताए ।

बैठकले उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा विभिन्न निकायका प्रतिनिधिहरू र विज्ञहरू सम्मिलित गरी राष्ट्रिय सुरक्षा नीति २०७३ संशोधन\परिमार्जनको प्रस्ताव तयार गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।

नेपालको ‘राष्ट्रिय सुरक्षा र हित’ विषयमा एक दिवसीय गोष्ठी संचालन गर्ने निर्णय समेत बैठकले गरेको छ । बैठकमा राष्ट्रिय सुरक्षा परिषद्का सदस्यहरू गृहमन्त्री रामबहादुर थापा,रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा र  प्रधानसेनापति पुर्णचन्द्र थापाको उपस्थिती थियो । वैठकमा पहिलो पटक प्रधानमन्त्रीका राजनितिक सल्लाहकार विष्णु रिमालको समेत उपस्थिती थियो । उनि समितीका सदस्य भने होईनन् ।