काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको झण्डै दुई महिना पुग्दा समेत हत्यारा समात्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को राजीनामा माग गरेको छ।
प्रतिनिधि सभाको सोमबारको बैठकको विषेश समयमा बोल्दै कांग्रेस सांसद उमा रेग्मीले निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राखेकी हुन् ।
जततातै दण्डहिनताको अवस्था रहेको र ८ महिने शिशुदेखि ७० वर्षीया वृद्धा बलात्कृत भएको अवस्थामा सरकार महिलालाई सुरक्षा दिन र दोषीलाई कारबाही गर्न असफल भएको उल्लेख गर्दै रेग्मीले भनिन्, ‘निर्मला पन्तको हत्याका वास्तविक दोषी पत्ता लगाउन सरकार असक्षम भएको छ । गृहमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आएको छ। छिटो अपराधी पत्ता लगाउनु पर्छ, नभए गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ।’
रेग्मीले निर्मलाका आमाबाबुले न्यायको आश मारेको बताइन्। उनले न्याय नपाइने भयो भनेर उनीहरू काठमाडौं नेता र सरकारको ढोका ढोकामा गएर याचना गर्नुपरेको बताइन्। उनले निर्मलाका आमाबाबुले गोरखाका गंगामाया अधिकारीको नियती भोग्न नपरोस् भनेर सचेत गरिन्।
यसैबीच, कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गृहमन्त्री थापाको राजीनामा माग गर्दै राजधानीमा प्रदर्शन गरेको छ। मुलुकमा भइरहेका हत्या, हिंसा र बलात्कारविरुद्ध सोमबार काठमाडौंको प्रर्दशनीमार्गका विरोध प्रर्दशनमा उत्रेका संघका नेता, कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए ।
किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न नसकेको भन्दै नेविसंघले गृहमन्त्री थापाको राजीनामा माग गरेको हो ।प्रर्दशनीमा सरकारले नै निर्मलाका हत्यारालाई संरक्षण गरेको भन्दै प्रधानमन्त्री केपी ओलीप्रति पनि आक्रोश व्यक्त गरिएको थियो ।
प्रतिक्रिया