लुटेरा गिरोहमाथि एसएसपी धानुकको धावा

लुटेरा गिरोहमाथि एसएसपी धानुकको धावा


काठमाडौं– दिउँसो रेखी गरेर रातिको समयमा गाडीको प्रयोग गरी लुटपाट गर्दै आएको एक गिरोहलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ।

प्रहरीले मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका ५ कोदोखोरिया फाखेलका सोमलाल स्याङतङ, सोमलाल थिङ्ग (चालक) अमृत भन्ने राजु लामा र कुमार लामालाई चोरी गर्न प्रयोग गरिएको गाडी र औजारसहित पक्राउ गरेको हो।

सोमबार बिहान ललितपुरको गोदावरी नगरपालिका ९ छम्पी स्थित प्रल्हद बिष्टको घरको झ्यालको ग्रिल फोडी भित्र प्रवेश गरी चोरी गरेर भोगका उनीहरुलाई भैंसेपाटीबाट पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए।

धानुकका अनुसार उनीहरूले चोरी गर्न प्रयोग गरेको बा१५प ६०८२ नम्बरको पिकअप गाडी बरामद गरिएको हो।

प्रहरीका अनुसार उनीहरूले यसअघि भदौ ३१ गते गोदावरीका गंगाराज थापाको स्टेसनरी पसल, ३१ गतेकै राती ललितपुर हरिसिद्धिका हरि महर्जनको सहकारी लुटेका थिए। महर्जनको सत्य वचत तथा सहकारी संस्थाको ढोका फोडेर उनीहरूले एक लाख २५ हजार रुपैयाँ नगद र अन्य अचल सम्पति चोरी गरेका थिए। त्यसैगरी भदौ १८ मा ललितपुर टीकाभैवको लुम्बिनी बैंकका सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर लुटपाटको प्रयाससमेत गरेको प्रहरीको भनाइ छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु श्रृंखलाबद्ध चोरी गिरोहका नाइके नै रहेको र थप अनुसन्धान भइरहेको एसएसपी धानुकले बताए ।