काठमाडाैं–राजनीतिक पहुँचका भरमा एसपी डिल्लीराज विष्टले अधिकांश समय आफ्नै घरपायक सेवा अबधि विताए । तर, तिनै विष्ट अहिले निर्मला पन्त हत्याको प्रमाण मेटाउन खोजेको आरोपमा निलम्बनमा परे । उनले राजनितिक पहुँचकै भरमा गृह जिल्ला कंचनपुरको सुरक्षा नेतृत्व सम्हाले ।
विष्ट मात्रै होइन, बलात्कारकै केश मिलाउन खोजेको आरोपमा निलम्बनमा परेका एसपी विद्यानन्द माझिलाई राजनीतिक प्रभावले नै तक्मा दिलायो । २०६६ सालमा रसुवाको प्रहरी नायव उपरीक्षक (डिएसपी) हुदाँ रक्तचन्द तस्करीमा मुछिएर कार्वाही भोगेका ओम रानालाई हालका गृहमन्त्री रामबहादुर थापाकै दवावमा कास्की प्रहरी नेतृत्वको जिम्मेवारीमा पठाइएको छ ।
उनी शुरूमा निलम्बनमा परे पछि राजिनितिक संरक्षणमा बढुवा भए । जबकी त्यही प्रकरणमा सेनाका तत्कालीन कर्णेल रामजी थापालाइ कोर्टमार्शलबाट बर्खास्त नै भए । राजनीतिक दवाव र प्रभावले प्रहरीमा देखिएका बेथिति यि केही उदाहरण मात्रै हुन ।
संगठनभित्र कुन अधिकृतको छवि कस्तो छ, संगठन प्रमुखलाई मात्रै राम्रो जानकारी हुने भएकैले जिल्लाको सुरक्षा नेतृत्व सम्हाल्न सक्ने एसपी सम्मको सरुवा गर्ने अधिकार प्रहरी महानिरक्षकलाई छ । तर गृहमन्त्री, सचिव र उनका निजि सचिवालयका व्यक्तिहरुको दवावका भरमा पठाइएका अधिकृतहरुले गरेको गलत कामको अपजस भने सिंगो प्रहरी संगठनले खप्दै आएको छ ।
यदी संगठन प्रमुखले नै सक्षमलाई भन्दा खराबलाई जिम्मेवारी दिएको कारण सुरक्षा व्यवस्था विग्रिएको हो भने गृहमन्त्रीले चासो राख्नु पर्छ । तर संगठन प्रमुखलाई स्वतन्त्र रुपमा आफनो अधिकार प्रयोग गर्न नदिने हो भने सुरक्षा संगठनमा पर्ने राजनीतिक छायाँ नै असुरक्षाको मुख्य कारण बन्नेछ ।
प्रतिक्रिया