काठमाण्डु – नेपाल धितोपत्र बोर्डमा ‘हिमालयन स्टक एक्सचेन्ज’ दर्ता भएको छ। सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले नयाँ स्टक एक्सचेन्जको बाटो खोलिदिएपछि हिमालयन स्टक एक्सचेन्ज शुक्रवार धितोपत्र बोर्ड पुगेको हो।
बोर्डले आइतबारसम्मको समयसिमा तोकेर सूचना जारी गरेको थियो । तर, हिमालय शुक्रबार नै बोर्ड पुगेको हो । धितोपत्र बोर्डले हिमालयन बाहेक अरुको आवेदन नपरेको जनाएको छ । तर, आइतबारसम्म भने अरुले पनि आवेदन दिन सक्ने सम्भावना छ ।
बोर्डले एउटा स्टक र २ वटा वस्तु विनियम बजारका लागि आवेदन माग गरेको थियो । तर, स्टकमा आवेदन परेपनि शुक्रवार सांझसम्म विनियममा भने कुनै आवेदन परेको छैन ।
हिमालयमा शकर ग्रुपअन्र्तगतको कम्पनीको १५ र व्यवसायी दीपक भट्टको १५ प्रतिशत लगानी छ । त्यसका साथै पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा, राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ र आशिष श्रेष्ठको पनि उक्त स्टकमा लगानी रहेको छ । यसको नेतृत्व भने व्यवसायी भट्टले गरेका हुन् ।
उनको हिमालय रिइन्स्योरेन्स,माइक्रो रिइन्स्योरेन्स र विभिन्न कलेजहरुमा लगानी छ । भट्टकै नेतृत्वमा नेपालका सबै ठुला उद्योगीहरु एक्सचेन्जमा सहभागि भएका हुन् ।
नयाँ स्टकका लागि ३ अर्ब रुपैयाँ चुक्ता पुँजी चाहिन्छ। जसमा ७० प्रतिशत संस्थागत र ३० प्रतिशत सर्वसाधारणको लगानी रहन्छ । अहिले सरकारको मुख्य लगानी रहेको नेपाल स्टक एक्सचेन्ज सञ्चालनमा छ ।
नेप्से आधुनिकरण हुन नसकेको र सेवा समेत प्रभावकारी नभएको गुनासो आइरहेको बेला अर्को प्रतिस्पर्धी कम्पनीले लाइसेन्स पाउन लागेको हो । नयां स्टक आएसंगै त्यसले प्रतिस्पर्धा हुने र गुणस्तर समेत सुधार हुने अपेक्षा गरिएको छ ।
सर्वाेच्च अदालतले करिब नयाँ स्टक एक्सचेन्ज सात महिनादेखि रोकेको थियो । नयां स्टकको आवेदन सुरु भएसंगै यसले सेयर वजारमा धेरै सुधार आउने अपेक्षा छ ।
संसारका धेरै देशमा दुई वा दुईभन्दा स्टक एक्सजेन्ज संचालनमा भएपनि नेपालमा भने नेप्सेको मात्र हालिमुहाली थियो । यसलाई सुधार गर्न लामो समयदेखि दबाव भएपनि ब्रोकरहरु भने त्यसको विपक्षमा थिए । जसले गर्दा सेवाको गुणस्तर समेत राम्रो हुन नसकेको गुनासो थियो ।
प्रतिक्रिया